गतवर्ष विनाशकारी भूकम्पमा परी निधन भएकाहरुको सम्झना गर्दै सिड्नीमा बाल फुटबल प्रतियोगिता
– वीरेन्द्र श्रेष्ठ (सिड्नी)
गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाहरुको सम्झनामा सेन्ट जर्ज नेपाली फुटबल क्लबले सिड्नी स्टेट प्रतियोगिता सफलतापूवृक सम्पन्न गरेको छ । ६ टिमले भाग लिएको एकदिवसीय प्रतियोगिताको सुरुवातमा भूकम्पमा परी दिवंगत हुनुभएकाहरुको स्मरणमा एक मिनेट मौन धारण गरिएको थियो । उक्त अवसरमा सेन्ट जर्ज नेपाली फुटबल क्लबका अध्यक्ष रविन्द्र भण्डारीले बल रेफ्रीलाई हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गर्नुभयो । निकै प्रतिस्पर्धात्मक खेलहरुमा जलजला समाज र सेन्ट जर्ज नेपाली टिम रातो फाईनलमा पुग्न सफल भए भने फाईनल खेल निर्धारित समयमा एक एक गोलको बराबरीमा पुगेपछि पेनाल्टी सुटआउटमा निर्णय गरिएको थियो । जसमा ३ का विरुद्ध २ गोलले सेन्ट जर्ज नेपाली टिम रातोले उपाधि कब्जा गर्न सफल भयो । कार्यक्रममा गोर्खा नेप्लीज कम्युनिटीका अध्यक्ष टंक गुरुंग, नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी राजु मानन्धर अतिथि हुनुहन्थ्यो । उहाँहरुले विजयी खेलाडी र टिमलाई शिल्ड तथा पदक वितरण गर्नुभएको थियो । खेल अवधिमा सबैभन्दा धेरै गोल गर्न सफल खेलाडी सयाल कोइरालालाई एईटीआईको तर्फबाट फुटबल जुत्ता र उत्कृष्ट खेलाडी ओम भण्डारीलाई एभरेष्ट कम्युनिकेसनको तर्फबाट मोबाइल फोन प्रदान गरिएको थियो । कार्यक्रमको समापनमा क्लबका अध्यक्ष रविन्द्र भण्डारीले कार्यक्रमलाई सफल पार्न सहयोग गरे वापत रेफ्री, म्याच कमिश्नर लगायत सम्पूर्ण अभिभावकहरुलाई धन्यवाद दिनुभएको थियो । प्रतियोगितासँगै नेपाली परिकारहरुको फुड स्टल पनि राखिएको थियो ।