एमाओवादी निकट जनप्रगतिशील मञ्चको अधिवेशन जुन १७ र १८ मा हुने
एकीकृत नेकपा माओवादी निकट अष्ट्रेलियाको संस्था नेपाली जनप्रगतिशील मञ्चको अधिवेशन जुन १७ र १८ तारिख हुने भएको छ । संस्थाको विस्तारित बैठकले दिएको म्याण्डेट अनुसार मञ्चको सचिवालयले उक्त मिति तय गरेको हो । मञ्चका संयोजक माण्डवराज कार्कीले एक विज्ञप्ति जारी गर्दै जनप्रगतिशील मञ्च अष्ट्रेलियाको विस्तारित बैठक सिड्नीको रकडेलमा सम्पन्न भएको र त्यस लगत्तै अप्रिल १६ मा सचिवालयको बैठक बसेर मिति तय गरिएको जानकारी दिएका छन् । अधिवेशन सफल बनाउनका लागि ५१ सदस्यीय आयोजक समिति बनाइएको आयोजक समितिको संयोजक माण्डवराज कार्की, सहसंयोजक हिमलाल गैरे तोकिएको पनि कार्कीले जानकारी दिए । यसैगरी ११ सदस्यीय सचिवालय गठन गरिएको र अधिवेशनका लागि नेपालबाट एकीकृत नेकपा माओवादीका केन्द्रीयस्तरका नेता प्रमुख अतिथिको रुपमा सहभागी हुने जानकारी पनि विज्ञप्तिमार्फत गराइएको छ । विज्ञप्तिमा अष्ट्रेलियाभरि रहेका समर्थक र शुभचिन्तकहरुलाई सम्पर्कमा आई योगदान दिन पनि आह्वान गरिएको छ ।