सरकारी छाप कीर्ते गरी कैद सजाय सुनाइएका अवाले पक्राउ
सरकारी छाप कीर्ते गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट कैद जरिवाना सुनाइएका ललितपुर–९ का नरेश अवालेलाई च्यासलबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । अवालेलाई काठमाडौं जिल्ला अदालतले २०६८ साल माघ ४ गते पचास रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाएको थियो । उनी त्यसयता फरार थिए ।
२०६८ साल असार २४ गते ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा बा. २ च ५०५२ नम्बरको भ्यान चालक अवालेका साथबाट उनको नामको सवारी चालक अनुमतिपत्र फेला पारेको थियो । नक्कली छाप तथा कीर्ते गरेर बनाएरको अभियोगमा पक्राउ परेका उनी पाँच हजार धरौटी बुझाई तारेखमा छुटेका थिए । अदालतको पुनः फैसलाले सजाय तोकेपछि उनी फरार हुँदै आएका थिए ।
पक्राउ परेका अवालेलाई बुधबारै काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले कैद भुक्तानको लागि केन्द्रीय कारागार चलान गरेको छ ।