फरार अभियुक्त १८ वर्षपछि पक्राउ


arrested

कर्तव्य ज्यान मुद्दामा जेल सजाय सुनाइएका जाजरकोटका एक अभियुक्तलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

जुगाथाचौर–२ का फरार अभियुक्त भीमबहादुर कामीलाई इलाका प्रहरी कार्यालय सीमाले पक्राउ गरेको हो । विसं २०५३ साउनमा छिमेकी गोरे कामीलाई हत्या गरेको अभियोगमा तत्काल पक्राउ परेका भीमबहादुरलाई जिल्ला अदालतले निर्दोष साबित गरिदिएपछि १० महिनापछि कारागारबाट छुटेकामा कर्तव्य ज्यानसम्बन्धी मुद्दा स्वतः पुनरावेदन जाने प्रावधानअनुसार पुनरावेदन अदालतले २०५५ सालमा भीमबहादुरलाई नौ वर्ष छ महिना छ दिनको कारावास सजाय सुनाएको थियो ।

पुनरावेदन अदालत सुर्खेतले उक्त सजाय सुनाए पनि भीमबहादुरले कुनै जानकारी नै नपाएको बताउँदै उनल आफूले मुद्दा जितिसकेको भनेर पुनरावेदनमा प्रतिवादी नलगाएको र फरार पनि नभएको बताए । ‘२०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा म्यादी प्रहरीसमेत भएको मान्छे कसरी प्रहरीको फरार सूचीअन्तर्गत अहिले पक्राउ परेँ, म आफैं आश्चर्यमा छु”, उनले भने ।

उनले कुष्ठरोग लागेर थलिएका गोरेले विष खाएर आत्महत्या गरेको जिकिर गर्दै आफूलाई फसाइएको र प्रतिवादी गर्न पाउने हक समेत नदिइएको बताए ।

प्रहरीले भीमबहादुरलाई जाजरकोटस्थित जिल्ला कारागारमा चलान गरेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए । अदालतको फैसलाका आधारमा कैद भुक्तान गर्न बाँकी भएकाले फरार अभियुक्त पक्राउ गरिएको उनले जानकारी दिए । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?