‘भिक्टोरियामा नेपालीका सच्चा अभिभावक चन्द्र योन्जन’
आइतबार भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन फरक कार्यक्रममा हुनुहुन्थ्यो । उहाँले नेपाली युवा विद्यार्थीका लागि आयोजना गरिएको तनाव व्यवस्थापन कार्यक्रममा आफ्नो मन्तव्य सकाउनुभयो । अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनको भनाई सुनिसकेपछि सहभागीमध्ये एक ईश्वर चिन्तनले प्रतिक्रिया दिए, “मलाई त भगवान भेटेको जस्तो भयो । योञ्जनले भन्नुभएका कुरा सुनेर अहिले नै केही गरौं, तत्कालै सकारात्मक सोचौं, जस्तो भएको छ । एउटा नयाँ ऊर्जा आएको छ ।” योञ्जनको भनाई सुनिसकेपछि अर्की सहभागी सावित्रा पौडेलले प्रतिक्रिया दिइन्, “मभित्र आज आत्मविश्वास जागेको छ । आज हामीसँग एकजना शेष घले छन् । भोलि दर्जनौं शेष घले बन्न सक्छौं भन्ने लागेको छ ।”
कार्यक्रममा नै सहभागी भएका डा. चन्द्रदिप पोखरेलले पनि आफ्नो मन्तव्यमा योञ्जन यो क्षेत्रमा रहेका नेपालीहरुको लागि सच्चा अभिभावक भएको बताउनुभयो । पोखरेलले अगाडि थप्नुभयो, “अहिलेका तपाईं भाइबहिनीहरु त निक्कै भाग्यमानी । हिजोका दिनमा हामी नेपाली बोल्ने कोही मान्छे भेट्यौं कि यसै दंग हुन्थ्यो त्यस्तो थियो अवस्था । त्यस्तो बेलामा पनि चन्द्र दादा (योञ्जन) कहाँ हामी सानो सानो समस्या भयो कि पुगिहाल्थ्यौं ।”
वास्तवमा महावाणिज्यदूत योञ्जनले तनाव व्यवस्थापनको औपचारिक कार्यक्रममा डा. अनुपम पोखरेल र डा. चन्द्रदिप पोखरेलले सहभागीहरुलाई कसरी तनाव व्यवस्थापन गर्ने ? तनाव के हो र अष्ट्रेलियाको स्वास्थ्य सेवासम्मको पहुँचलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा दिएको मन्तव्यपछि यहाँको जीवनका विषयमा आफ्नो धारणा राख्दै हुनुहुन्थ्यो ।
योञ्जनले नेतृत्व गरेको रोयल गोर्खा ईन्ष्टिच्युट अफ टेक्नोलोजीमा ३० प्रतिशतभन्दा बढी कर्मचारी नेपाली नै छन् । नेपालीका लागि सहयोग गर्न सदैव तत्पर रहने योञ्जनको स्वभाव आजको होइन । योञ्जनले भन्नुभयो, “तपाईंहरु भोलिको तारा हो । हिजोका दिनमा नेपाली विद्यार्थीले कहाँ किचेन ह्याण्डको काम छ ? कहाँ क्लिनिंग गर्न पाइन्छ भनेर खोज्दथे । तर, आज त तपाईंहरुले अष्ट्रेलियाका विभिन्न प्रतिष्ठित संस्थाहरुमा आफूलाई उभ्याउन सक्नुहुन्छ । अष्ट्रेलिया अवसरै अवसरको सागर हो । यहाँको शिक्षा छ, यहाँको रहनसहन बुझ्नुभएको छ । अघि बढ्नुहोस् जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोच राखेर अघि बढ्दै जाँदा सफलता अवश्य हाँसिल हुन्छ ।” महावाणिज्यदुतको रुपमा कार्यरत रहँदा योञ्जनले कैयौं पटक नेपाली विद्यार्थीहरुलाई जेलमा गएर पनि भेट्नुभएको छ । उनीहरुलाई त्यहाँ चाहिने कानूनी सहयोगका लागि । अनि, कैयौं पटक गम्भीर रोगका कारण जीवनको अन्तिम मोडमा पुगिसकेकाहरुलाई पनि साहसको नयाँ सञ्चार गराउनुभएको छ, आशाको किरण बालिदिनुभएको छ । योञ्जनले उदाहरण दिनुभयो, “नाम त मैले सार्वजनिक गर्न मिल्दैन । तर, यहाँ विद्यार्थीको रुपमा आउनुभएको एकजना भाईले पढाई सकाउनुभयो । पर्मानेन्ट रेसिडेन्सीका लागि अप्लाई पनि गर्नुभयो । तर, मेडिकलको बेलामा श्रीमान र श्रीमतीलाई भिसा दिइयो । छोरी भने अपांगता भएको भन्दै उनको स्वास्थ्यलाई कारण देखाएर भिसा दिइएन । त्यो बाबुआमाको हालत सोच्नुहोस् त ? त्यतिबेला कस्तो हुन्छ होला । जब उहाँहरु समस्या लिएर मसम्म आउनुभयो । मैले भनें, जस्तोसुकै परोस् म बरु तपाईंलाई स्पोन्सर गर्छु ४५७ भिसामा ।” जब योञ्जनले यस्तो बताउनुभयो हलमा ताली गुञ्जियो । सबैजना हजारौं किलोमिटर टाढाको यो मेलबर्नमा आफ्नो कोही त अभिभावक छ । जसलाई आफ्ना गुनासाहरु, समस्याहरु राख्न सकिन्छ भनेर ढुक्क भएका देखिन्थे । कार्यक्रमको आयोजना नेप्लीज युथ एशोसिएसनले गरेको थियो । विद्यार्थीहरुमा विभिन्न कारणबाट बढ्दै गएको तनाव र त्यसको व्यवस्थापनका उपायहरु सुझाउने यो कार्यक्रममा वास्तवमै मन्त्रमुग्ध भएर उनीहरु सुनिरहेका थिए योञ्जनलाई । “नेपालीलाई मेहनत गर्ने जाति, ईमान्दार भनेर विभिन्न ठाउँमा गएको बेला मलाई भन्छन् । कति खुशीको कुरा हो यो । यसलाई कायम राख्नका लागि, जोगाउनका लागि सबै संघसंस्था एकढिक्का भएर अघि बढ्नुपर्छ । एकअर्कासँग सहकार्य गरेर समूदायको हितलाई प्रबद्र्धन गर्नु नै वास्तवमा नेपालीको परिचय हुन्छ”, योञ्जनले अन्त्यमा भन्नुभयो ।