भुवन र अनमोलको मेलबर्नमा स्वागत, आजै साँझ चलचित्र प्रदर्शन, मंगलबार ब्रिसबेन जाँदै
नेपाली रजतपटका सुपरस्टार भुवन केसी र स्टार अनमोल केसीलाई मेलबर्नमा स्वागत गरिएको छ । स्मार्ट एक्सेसले भुवन निर्देशित र अनमोलद्वारा अभिनित चलचित्रको मेलबर्न प्रदर्शन गर्न लागेको अवसरमा त्यसैमा सहभागी हुन अष्ट्रेलिया टुर अन्तर्गत सिड्नी मेलबर्न र ब्रिसबेनमा हुने शोहरुमा सहभागिता जनाउने क्रममा नायकद्वय मेलबर्न आइपुगेका हुन् । आज विहान सिड्नीबाट केही सहयोगीका साथ मेलबर्न आइपुगेका उनीहरुलाई स्मार्ट एक्सेसका विभूषण जोशी, मुख्य प्रायोजक ग्रेस ईन्टरनेशनलका रामचन्द्र पौडेल लगायतले विमानस्थलमा स्वागत गरेका थिए । यसपछि मेलबर्नको शोलाई प्रायोजन गर्ने विभिन्न संस्थाहरुसँगको अन्तरक्रियापछि उनीहरुलाई मेलबर्नमा रहेको अवैतनिक महावाणिज्यदूतको कार्यालयमा स्वागत गरिएको थियो । भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले उनीहरुलाई स्वागत गर्नुभएको हो । स्वागतका क्रममा योञ्जनले नेपाली सिनेमा उद्योगलाई नयाँ उचाईमा लैजाने सफलता पाएकोमा बधाई दिनुभएको थियो भने आगामी दिनमा पनि यसैगरी राम्रा नेपाली चलचित्र हेर्न पाउने अपेक्षा गरिएको बताउनुभएको थियो । उक्त क्रममा नायक निर्देशक भुवन केसीले मेलबर्नमा पाएको न्यानो मायाबाट उत्साही बनेको प्रतिक्रिया दिएका थिए भने यसमा सबै दर्शक, शुभेच्छुक र शुभचिन्तकहरुलाई धन्यवाद दिएका थिए । यसैगरी नायक अनमोल केसीले पनि पहिलो पटक अष्ट्रेलिया भ्रमणबाट आफु उत्साही बनेको प्रतिक्रिया दिएका छन् । यसैबीच, स्टारद्वय एमएनटीभीको निम्ति अन्तर्वार्ता दिइरहेका बेला अनमोलको पहिलो चलचित्र होस्टेलकी नायिका प्रकृति श्रेष्ठ पनि अचानक आइपुगेकी थिइन् । पहिलो चलचित्रबाट निकै प्रशंसा बटुलेको यो जोडीको सहकर्मीलाई भेट्दा अनमोल निकै खुशी देखिन्थे । सिड्नीमा दर्शकहरुको अत्यधिक रुचाईमा परेका अनमोलले नेपाली चलचित्र क्षेत्रलाई निरन्तर योगदान दिइरहने बताएका छन् ।