इङ्लिस प्रिमियर लिगको उपाधि पहिलो पटक लिसेस्टर सिटीलाई
इङ्लिस प्रिमियर लिगको उपाधि लिसेस्टर सिटीले जितेको छ । सोमबार राति भएको खेलमा उपाधि होडमा रहेको टोटनह्याम र डिफेन्डिङ च्याम्पियन चेल्सीबीचको खेल २–२ गोलको बराबरीमा रोकिएपछि लिसेस्टरले उपाधि पक्का गरेको हो । लिसेस्टरको यो पहिलो प्रिमियर लिग उपाधि हो । गएको सिजन रेलिगेसनबाट मुस्किलले जोगिएको लिसेस्टरले यो सिजन निकै राम्रो प्रदर्शन गर्दै प्रिमियर लिगका ठूला र बलिया भनिएका टिमलाई पछि पार्दै आफूलाई च्याम्पियनका रुपमा स्थापित गरेको हो । क्लाउडियो रानिएरीको प्रशिक्षणमा रहेको टिमलाई उपाधि यात्रासम्म लैजान जेमी भर्डी तथा रियाद महरेजसहितका खेलाडीले महत्वपूर्ण र उत्कृष्ट प्रदर्शन गरे । उपाधि होडमा रहेको टोटनह्यामसहित आर्सनल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड तथा गएको वर्षको विजेता चेल्सीले लिसेस्टरलाई रोक्न सकेनन् । आइतबार राति भएको खेलमा लिसेस्टर सिटी म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरीमा रोकिएपछि टोटनह्यामलाई उपाधिका लागि लिगका बाँकी तीनै खेल जित्नु पर्ने थियो । तर सोमबार राति भएको खेलमा चेल्सीसँग २–२ को बराबरीमा रोकिएपछि टोटनह्यामको उपाधि सम्भावना सकियो भने लिसेस्टरले लिगका दुई खेल बाँकी हुँदा नै उपाधि पक्का र्गयो । लिगका दुई खेल बाँकी हुँदा च्याम्पियन बनेको लिसेस्टरको ७७ अंक छ भने दोस्रो स्थानको टोटनह्यामको ७० अंक छ । लिसेस्टरले अब दुवै खेल र्हायो र टोटनह्यामले दुवै खेल जित्यो भने पनि लिसेस्टर टोटनह्याम भन्दा एक अंकले अघि नै हुने छ । लिसेस्टरको यो पहिलो प्रिमियर लिग उपाधि हो ।