ओएनएफ भिक्टोरियाको परिचयात्मक बार्बिक्यू सम्पन्न, विविध अन्य गतिविधि पनि गर्दै


प्रवासी नेपाली मञ्च भिक्टोरियाले विद्यार्थीहरुका लागि परिचयात्मक अन्तरक्रियासहितको बार्बिक्यू सम्पन्न गरेको छ । मञ्चका सदस्यहरुका साथै समूदायका अन्य व्यक्तित्वहरुको उपस्थितिमा मेलबर्नको स्थानीय कोबर्ग पार्कमा सम्पन्न भएको बार्बिक्यूमा स्थानीय लेबर पार्टीका नेताहरु सहभागी भएका थिए । onfनेपाली समूदायको तर्फबाट भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जन, न्याभका पूर्वअध्यक्ष बम योञ्जन, ओएनएफका संस्थापक अध्यक्ष डा. जगदिश तिम्सिना, नेपाली जनसम्पर्क समितिका दुर्गा आचार्यलगायत उपस्थित हुनुहुन्थ्यो । मुख्यतः मेलबर्नमा पढाईको सिलसिलामा आएका नयाँ विद्यार्थीहरुलाई समूदायसँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार ओएनएफ भिक्टोरियाले आगामी दिनमा पनि विधिव कार्यक्रम गर्ने लक्ष्य लिएको छ । केही दिनअघि नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको संस्थाले त्यसअघि विराटनगरमा नमूना बालगृह निर्माणका लागि च्यारिटी डिनर आयोजना गरी १८ हजार डलर सहयोग संकलनमा सहकार्य गरेको थियो । अध्यक्ष न्यौपानेका अनुसार ओएनएफ भिक्टोरियाले हरितालिका तीजको अवसरमा आगामी अगष्ट ७ र ८ तारिख विशेष कार्यक्रम गर्ने तयारी गरेको छ । जस अनुसार अगष्ट ७ मा ब्रन्सविकस्थित ईस्टोनिया हाउसमा तीजको दरखाने कार्यक्रम गरिने भएको छ भने ८ तारिख माउन्स बैंबलीको पाम रेष्टुरेन्टमा कार्यक्रम गरिनेछ जसका लागि कलाकारहरु पशुपति शर्मा र मञ्जु पौडेलसहित स्थानीय कलाकार सहभागी बन्नेछन् । यसैगरी संस्थाले अक्टोबर ३० तारिखमा विशेष तिहार कार्यक्रम गर्ने र देउसी भैलोको योजना बनाएको पनि अध्यक्ष न्यौपानेले एमएनटीभीलाई जानकारी दिनुभयो । डिसेम्बर महिनामा अभिभावक भेला गर्ने, फेब्रुअरी १२ मा अनेरास्ववियुकी अध्यक्ष नविना लामा र शान्ता चौधरीसहितको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्ने र यसबाट आएको रकम शान्ता चौधरी फाउन्डेशनलाई सहयोग गर्ने योजना छ । ओएनएफ भिक्टोरियाका सचिव उत्तम अधिकारीका अनुसार वार्षिक रुपमा दुईजना बालबालिकालाई वार्षिक ५० हजारको छात्रवृत्ति दिने योजना पनि बनाएको छ । वार्षिक क्यालेन्डर नै सार्वजनिक गर्नुभएको हो ? भन्ने हाम्रो जिज्ञासामा न्यौपानेले भन्नुभयो, होइन, यी कार्यक्रम गर्ने तय भएको कुरा हो । यस बाहेक पनि अन्य गतिविधि हामी गरिरहनेछौं । मुख्यतः नेपाली समाजलाई जोड्ने, दुःख, हाँसो र खुशीमा साथसाथै अघि बढ्ने हाम्रो योजना हुनेछ । महिनामा कम्तिमा एउटा कार्यक्रम गर्न सकौं भन्ने अठोटका साथ हामी पूरै टिम भिक्टोरिया लागिपरेका छौं । सबैको साथ मिल्नेछ भन्ने विश्वास छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?