नवाज कप फुटबल प्रतियोगता सिड्नीमा सुरु, पहिलो साताको नतिजा यस्तो छ
नेप्लीज अष्ट्रेलियन वेलफेयर सोसाईटी नवाजले आयोजना गरेको नवाज कप फुटबल प्रतियोगिता सिड्नीमा सुरु भएको छ । गत आईतबार मे १ तारिखबाट सुरु भएको प्रतियोगिता हरेक साता आइतबारका दिन हुनेछ । प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा राईजिंग गोर्खा फुटबल क्लबले वेष्ट युनाईटेड क्लबलाई शून्यका विरुद्ध तीन गोल अन्तरले पराजित गरेको छ भने अर्को प्रतिस्पर्धात्मक खेलमा लालीगराँस फुटबल क्लबलाई एक गोलका विरुद्ध ८ गोल प्रहार गर्दै सेन्ट जर्ज नेपाली क्लब विजयी बनेको छ । यसैगरी अर्को खेलमा ग्रानभिल राइनोज फुटबल क्लबले बेनी फुटबल क्लबलाई दुईका विरुद्ध ६ गोल अन्तरले पराजित गरेको छ । यस प्रतियोगितामा १९ टिमको सहभागिता रहेको र चार समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन गरिएको खेलका म्याच कमिश्नर राजु मानन्धरले एमएनटीभीलाई जानकारी दिनुभयो । नवाज कपका संयोजक प्रकाश पन्थीले विजेता टिमले शिल्ड, प्रमाणपत्रसहित १२ सय डलर पुरस्कार पाउनेछ भने दोश्रो हुने टिमले शिल्ड, प्रमाणपत्र सहित ६ सय र तेश्रोलाई ३ सय ५० डलर दिइने बताए । ग्रुप ए मा बेनी फुटबल क्लब, अबर्न फुटबल क्बल, सेन्ट जर्ज फुटबल क्लब, चन्द्र सुर्य फुटबल क्लब, र ग्य्रानभिल राइनोज फुटबल क्लब रहेका छन् भने ग्रुप बि मा सेन्ट जर्ज नेप्लीज क्लब, सगरमाथा क्लब, क्लब नेपाल, माछापुच्छ्र्रे क्लब र लालीगुँरास क्लब रहेका छन् । त्यस्तै ग्रुप सि मा वेष्ट युनाइटेड, हिमालयन यूथ क्बल, ओयसिस डाँफे क्लब, सिड्नी नेप्लीज क्लब र दि गोर्खा राइजिङ क्लब छन् भने अन्तिम ग्रप डी मा तामाङ रिक्रियसनल क्लब, फेवा क्लब,आरएसडि सिम्रिक क्लब, र दि ब्रिगेड क्बल रहेका छन् ।