नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट पक्राउ, ६० जना अनुसन्धानको घेरामा
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालक बनेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलील गोमा एयरका सहचालक विशाल कार्कीलाई पक्राउ गरेको हो । कार्कीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सहचालक बनेको आरोप प्रहरीले लगाएको छ ।
धनुषा घर भई हाल ललितपुर बस्ने विमान सहचालक कार्कीले २०६४/६५ सालमा काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएस्सी पास गरेको नक्कली प्रमाणपत्र पेश गरी फिलिपिन्सको डेल्टाफोर्समा पाइलट कोर्ष पुरा गरी नेपाल नागरिक उड्यान प्राधिकरणबाट व्यक्तिगत इजाजत पत्र लिएको प्रहरीले जनाएको छ ।
२०५२ सालमा जानकी सेकेन्डरी बोडिङ स्कुल जनकपुरबाट एसएलसी पास गरेको र भारतको लखनउमा उच्च शिक्षा पढ्न गएका कार्की फेल भएपछि अमृत साइन्स क्याम्पसबाट आइएस्सी पास गरेको नक्कली प्रमाणपत्र लिएको प्रहरीले जनाएको छ ।
कार्कीले करिब डेढ वर्षदेखि गोमा एयरमा काम गर्दै आएका थिए । प्रहरीले ६० जनाभन्दा बढी विमान चालक अनुसन्धानको घेरामा रहेको जनाएको छ ।