वैदेशिक रोजगार विभागसहित विभिन्न स्थानमा प्रहरीको छापा
नक्कली कागजात बनाएर वैदेशिक रोजगारीमा पठाएको फेला परेपछि महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंका विभिन्न स्थानमा छापा मारेको छ ।
वैदेशिक रोजगार विभागसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न ट्राभल एजेन्सीमा प्रहरीले छापा मारेको हो । प्रहरीले श्रमका लागि विदेश हिँडेका दुई कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । पहिलो पटक विदेश जान लागेका ती कामदारको पासपोर्टमा रि–इन्ट्रिको भिसा हानिएको छ । वैदेशिक रोजगार व्यवसायीको मिलेमतोमा अवैद्य काम भएको प्रहरीले जनाएको छ । विमानस्थलमा कामदार पक्राउ गरेसँगै प्रहरीले वैदेशिक रोजगार विभागमा पनि छापा मारेको छ । विभागको चाहचलस्थित श्रम स्वीकृति शाखालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
यसैगरी प्रहरीले गैरकानुनी काम गरेको सुराकीका आधारमा गौशालास्थित म्यानपावर र ट्राभल एजेन्सीमा छापा मारेको छ । प्रहरीको टोलीले इन्टरनेशनल ट्रेङ लिङ्स मेनपावर, हिमालय रेडपाण्डा ट्राभल एण्ड टुर र खजाना मेडिकलमा छापा मारी सञ्चालकहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले महत्वपूर्ण डकुमेन्ट, दुई थान सीपीयु, दुई थान ल्यापटप, पासपोर्ट र केही टिकट पनि बरामद गरेको छ ।
नक्कली भीसा, नक्कली टिकट बनाएर झुक्याएको, मेडिकलको नक्कली कागजात बनाएर गैह्रकानुनी काम गरेको भन्दै प्रहरीले सञ्चालकहरु अमृत ढकाल, फणिन्द्र तामाङ, राजेश ढकाल र सुशील शाक्यलगायतमाथि अनुसन्धान शुरु गरेको जनाएको छ । सञ्चालकहरुले कार्यालय खोल्न आनाकानी गरेका कारण प्रहरीले चाबी फोडेर खानतलासी गरेको थियो ।