हुन्डीविरुद्ध प्रहरीको अर्को अपरेशन, झण्डै २ करोडसहित १५ समातिए
प्रहरीले पछिल्लो समय हुन्डी कारोबारीलाई खोजी खोजी पक्राउ गर्न थालकेो छ । यसका विरुद्ध अपरेशन नै चलाइरहेको महानगरीय अपराध महाशाखाले काठमाडौंको खिंचापोखरी र पशुपति प्लाजामा अवैध रुपमा हुन्डी कारोबार हुने स्थानहरुमा छापा मारेको हो । यस क्रममा हुन्डी कारोबार गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले हुन्डी कारोबार हुने शंकास्पद स्थानमा छापा मारेर १ करोड ७४ लाख ७७ हजार रुपैयाँ बरामद गरेको एसएसपी सर्वेन्द्र खनालले बताए।
पशुपति प्लाजामा सुरेन्द्र गोयलले अवैध रुपमा हुन्डी कारोबार गर्दै आएको स्थानमा पनि छापा मारेको एसएसपी सर्वेन्द्र खनालले बताए। प्रहरीले गोयलको कार्यालयबाट १ लाख भारतीय रुपैयाँसमेत बरामद गरेको छ। प्रहरी स्रोतका अनुसार गोयल नेपालमा हुन्डी कारोबार गर्ने मुख्य व्यक्ति हुन्।
गोयलसहित शंकर अग्रवाल र अरुण अग्रवाल पनि पक्राउ परेको एसपी सहकुल थापाले जानकारी दिए। उनीहरुले पशुपति प्लाजामा कपडा र इलेक्ट्रोनिक्स पसल खोलेर हुन्डी कारोबार गर्ने गरेको उनले बताए।
हुन्डी कारोबार गर्ने राजकुमार श्रेष्ठ, आङफुर्वा शेर्पा, अर्जुन कँडेल, निरज कँडेल र डिल्लीराम बस्नेत पनि पक्राउ परेका छन्। सत्यप्रकाश शर्मा, उदयकुमार शर्मा, दिलबहादुर कुँबर, नबिन भट्ट र समिर श्रेष्ठ लगायतकालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।