नयाँ शक्तिको अष्ट्रेलिया प्रवासी संगठनलाई बाबुरामले स्काइपबाटै सम्बोधन गर्ने
अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको पहिलो राष्ट्रिय भेला आगामी मे २२ तारिखका दिन सिड्नीको एसफिल्डमा हुने भएको छ । नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य मुमाराम खनालको प्रमुख आतिथ्यमा हुन लागेको यो भेलाले आगामी कार्यकालको निम्ति नेतृत्व समेत चयन गर्नेछ । हाल नयाँ शक्ति अष्ट्रेलियाको संयोजकमा विनोद पौडेल रहेका छन् । राष्ट्रिय भेलामा प्रमुख अतिथिका साथै नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । तर, डा. भट्टराई भने अष्ट्रेलियामा नआई उतैबाट प्रत्यक्ष सम्बोधन गर्ने तयारी गरिएको संयोजक विनोद पौडेलले जानकारी दिए । पौडेलका अनुसार यस पटकको भेलाको नारा बनाउनुछ हामीलाई सम्बृद्ध नेपाल हाम्रै पालामा भन्ने नारा तय गरिएको छ । प्रवासी नेपालीहरुलाई समेट्नेगरी नयाँ शक्तिले अन्तर्राष्ट्रिय नेपाली समाज गठन गरेको छ । जसको अष्ट्रेलिया च्याप्टर र यसका राज्यस्तरीय शाखाहरु पनि केही समय अघि विस्तार गरिएको थियो । पौडेलका अनुसार यस भेलामा न्यूसाउथवेल्स सहित अष्ट्रेलियाका विभिन्न राज्यबाट समेत सहभागी आउनेछन् । स्थानीय एसफिल्ड पब्लिक स्कुलमा हुन लागेको भेला लगत्तै घोषणासभा र अन्तरक्रिया कार्यक्रम समेत गरिने तयारी भएको अष्ट्रेलियाको तर्फबाट केन्द्रीय परिषद् सदस्य शरद खरेलले जानकारी दिए । खरेलका अनुसार दिउँसो २ः३० बजेबाट यो सार्वजनिक कार्यक्रम हुनेछ । जहाँ नेपालमा विकासको खाका कोर्नका लागि यहाँको नेपाली समूदायसँग अन्तरक्रिया गर्ने योजना छ । “अन्तरक्रियाबाट आएको निचोडलाई हामी सुझावका रुपमा केन्द्रमा पनि पठाउँछौं”, खरेलले एमएनटीभीलाई बताए । आइतबारको दिन विहान ८ः३० बजेबाटै बन्द सत्र र प्रशिक्षणमा जुट्ने अन्तर्राष्ट्रिय नेपाली समाजमा आबद्ध कार्यकर्ताहरुले दिउँसो २ः३० बजे चुनिएको नयाँ नेतृत्वको समेत घोषणा गर्नेछन् ।