अबर्न कार दुर्घटनाको चालकमाथि मुद्दा, नेपाली परिवारलाई राहत
गत महिना सिड्नीको अबर्नमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका १७ महिने बालक श्रेयनको मृत्युको कारण चालकको लापर्वाही भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको छ । स्थानीय बरउड अदालतमा कारकी चालकलाई आगामी २५ जुलाईमा उपस्थित गराइने भएको छ । यससँगै उनको चालक अनुमति पत्र पनि हाललाई स्थगित गरिएको छ । यस मुद्दामा नेपाली परिवारको तर्फबाट लडिरहेका सोलिसिटर एवं एनआरएनका पूर्व सचिव भरत पोखरेलले यसअघि बालक नै हजुरआमाको हात छुटाएर सडकमा पुगेको भन्ने अर्को पक्षको मतलाई गलत सावित गरेको बताएका छन् । सँगै रहनुभएकी हजुरआमा मेनुकाले तत्कालै अंग्रेजीमा सबै कुरा बताउन नसक्दा स्थानीय मिडियाहरुले यस विषयलाई त्यसै रुपमा प्रस्तुत गरेका थिए । तर, परिवारले निरन्तर प्रतिवाद गर्दै आएको थियो । आफुसँग सडक पेटीमै हिंडीरहेको नाति गुमाउँदाको पीडाले हजुरआमा मेनुका बोल्न सक्ने अवस्थामा थिइनन् । ड्राईभरमाथि यस किसिमको आरोपसहितको मुद्दा दर्ता भएपछि परिवारलाई राहत मिलेको छ ।