भिक्टोरियाको कन्सुलेट कार्यालयमा नेपाली लुतोको चर्चा


गायक मिलन लामासहित ज्योति मगर, सन्तोष लामा, कालीप्रसाद बास्कोटा र हाँस्य कलाकार राजेन्द्र पोखरेललाई भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदुतको कार्यालयमा सम्मान गरिएको छ । सोमबार आयोजना गरिएको स्वागत कार्यक्रममा चर्चा भने नेपाली लुतोको भयो । खासमा लुतोको चर्चा केही समय अघिदेखि स्वयं लोकगायक मिलन लामाले गरेका थिए आफ्नो सामाजिक सञ्जाल मार्फत । उनले अष्ट्रेलियामा पनि नेपाली लुतो सरिसकेको भन्दै यहाँ नेपालको राजनीतिक आस्थाका आधारमा हुने छोइछिटोलाई व्यंग्य कसेका थिए । तीन साता लामो अष्ट्रेलिया टूरमा आएको टोलीलाई स्वागत गर्दै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले औपचारिकतालाई अलिकति अनौपचारिकतामा ढाल्दै मिलनसँग लुतोको बारेमा जिज्ञासा राखेका थिए । त्यसपछि माहोल हाँसोमा गुञ्जियो । consulमिलनले पनि थपथाप पारे, जति सानो ठाउँ त्यति नै लुतो कम भएका कारण सबै जात, जाति, वर्ग र समूदायका नेपाली हाम्रो कार्यक्रममा उपस्थित भए । तर, ठूलो ठाउँमा लुतो पनि ठूलै हुँदो रहेछ । विभिन्न आस्था र विश्वासमा विभक्त भएका नेपाली देख्दा यो लुतो यता पनि सरेकोमा मलाई चिन्ता लाग्यो । कलाकारहरुलाई सम्मान कार्यक्रममा प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्णप्रसाद न्यौपाने लगायत सञ्चारकर्मीहरुको पनि उपस्थिति थियो । हाम्रो ईभेन्ट्सका संयोजक विपिन बस्नेतसहितका पदाधिकारी पनि महावाणिज्यदूतको कार्यालयमा गरिएको स्वागतमा उपस्थित भएका थिए । करिब एक घण्टाको लामो अन्तरक्रियापछि फर्किनै लाग्दा भने सबैको एकमत थियो, कम्तिमा मेलबर्नमा एउटा नेपालीकै कम्युनिटी सेन्टर होस् । त्यहाँ नेपाली कार्यक्रमहरु व्यवस्थित रुपमा आयोजना होस् र यसका लागि नेपाली लुतोलाई पर राख्दै भिक्टोरियावासीहरुबीच सहकार्य होस् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?