मेलबर्नमा मंगलबार पत्रकार जगत नेपालको बृत्तचित्र ‘प्रजातन्त्रको लागि अपहरण’ देखाइँदै
कान्तिपुर टेलिभिजनका पत्रकार जगत नेपालले बनाएको वृत्तचित्र प्रजातन्त्रको लागि अपहरण मंगलबार मेलबर्नमा देखाइने भएको छ । अष्ट्रेलिया भ्रमणमा रहनुभएका पत्रकार नेपाल प्रदर्शनका लागि सोमबार मेलबर्न आउँदै हुनुहुन्छ । एमएनटीभीसँग कुरा गर्दै उहाँले कार्यक्रम मंगलबार स्थानीय कोबर्ग लाईब्रेरीको हलमा बृत्तचित्र प्रदर्शन गरिने बताउनुभयो । भर्खरै मात्र वीपी र महेन्द्रको टकरावका सम्बन्धमा पहिलो संसद पुस्तक प्रकाशित गरेका नेपालले बनाएको वृत्तचित्रमा नेपाली काँग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले कसरी काठमाडौंबाट विराटनगर उडेको विमानलाई अपहरण गरी भारतमा अवतरण गराएर विमानमा रहेको राष्ट्र बैंकको नगद लुटिएको थियो । तत्कालीन शासनसत्ताका लागि यो ठूलै चुनौती बनेको थियो भने उक्त रकमले प्रजातन्त्रका लागि गरिएको आन्दोलनमा सहयोग पुगेको थियो । यही घटनाका पात्रहरुसँगको सम्वाद र ऐतिहासिक तथ्यका आधारमा वृत्तचित्र निर्माण गरिएको छ । यस वृत्तचित्रको प्रदर्शनीबाट उठेको रकम नेपालमा पत्रकारिता गर्दागर्दै ज्यान गुमाएका सक्रिय पत्रकारहरुका परिवारको सहयोगका लागि खर्च गरिनेछ । यस वृत्तचित्र प्रदर्शनीको मेलबर्न संयोजन पत्रकार पेशल लुईटेलले गर्दैछन् ।