भेनेजुएला र मेक्सिको कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा, उरुग्वे समूह चरणबाटै बाहिरियो
भेनेजुएला र मेक्सिको कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
तर दाबेदार मानिएको उरुग्वे समूह चरणबाटै बाहिरिएको छ । लगातार दुई खेलमा पराजित भएको उरुग्वे मेक्सिकोले जमैकालाई २–० ले हराएपछि प्रतियोगिताबाट बाहिरिएको हो ।
१५ पटकको विजेता उरुग्वेको क्वाटरफाइनलको सम्भावना कायम हुन मेक्सिको जमैकासँग पराजित हुनपर्ने थियो । पहिलो खेलमा मेक्सिकोसँग ३–१ ले हारेको उरुग्वे शुक्रबार बिहान भएको खेलमा भेनेजुएलासँग १–० पराजित भयो । फिफा विश्व बरियताको नवौँ स्थानमा रहेको उरुग्वे ७७ औँ स्थानमा रहेको भेनेजुयलासँग पराजित हुनु निकै दुर्भाग्यपूर्ण रह्यो ।
समूह सी बाट भेनेजुएला र मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा स्थान बनाएका छन् । शुक्रबार बिहान भएको खेलमा मेक्सिकोले जमैकालाई हरायो ।
यस्तै भेनेजुएलाले पनि पहिलो खेलमा जमैकालाई १–० ले हराएको थियो । जमैका पनि समूह चरणबाटै बाहिरिएको छ । जमैका र उरुग्वेले आउँदो मंगलबार समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै मेक्सिको र भेनेजुएलाबिचको खेलले समूह विजेताको टुंगो लगाउने छ ।