युरो कप फुटबलको उपाधि दाबेदार पोर्चुगल बराबरीमा रोकियो, हंगेरीले अस्ट्रियालाई हरायो
युरो कप फुटबलको उपाधि दावेदार पोर्चुगललाई आईसल्याण्डले बराबरीमा रोकेको छ । फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको समुह एफ को खेलमा आईसल्याण्डले पोर्चुगललाई १÷१ गोलको बराबरीमा रोकेको हो । खेलको ३१ औं मिनेटमा पोर्चुगलका नानीले पहिलो गोल गरे ।
तर दोस्रो हाफको ५० औं मिनेटका आईसल्याण्डका बिर्की बार्नासनले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । यो बराबरीपछि पहिलो पटक युरोकप फुटबल खेलिरहेको आईसल्याण्डले प्रतियोगिताको पहिलो खेलबाटै १ अंक जोडेको छ ।
यही समुहको अर्को खेलमा हंगेरीले अष्ट्रियालाई २–० ले हरायो । खेलमा हंगेरीका लागि एडम जालाई र जोल्टन स्टिबरले एक–एक गोल गरे । अष्ट्रियाका अलेक्जेन्डर ड्रागोभिचले दोहोरो पहेंलो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो ।
युरोकप फुटबलमा बुधबारबाट दोस्रो चरणका खेलहरु सुरु हुँदैछन् । बुधबार बेलुकी नेपाली समय अनुसार पौने ७ बजे हुने खेलमा रुस र स्लोभाकिया भिड्नेछन् । यसैगरी बेलुकी पौने १० वजे स्विट्जरल्याण्डले रोमानियासँग खेल्दा राती पौने १ वजे आयोजक फ्रान्सले अल्बानियासँग खेल्नेछ ।