पर्थमा झलक खत्रीको नेपाली चित्रकला एकल प्रदर्शनी सम्पन्न
– अदिती सुब्बा
नेपाली परिवेश झल्काउने चित्रकलाको प्रदर्शनी पर्थमा सम्पन्न भएको छ । कलाकार झलक खत्रीले बनाउनुभएका नेपालको परिवेश झल्कने कलाहरुको प्रदर्शनी गत शनिबार गरिएका हो । प्रदर्शनीमा नेपालको प्राकृतिक सुन्दरता, ऐतिहासिक धरोहरहरु, नेपालीको मुहारचित्रहरु राखिएका थिए । हलमा प्रवेश गर्नेवित्तिकै नेपालको झल्को दिन प्रदर्शनी सफल थियो । पाटन दरबार स्क्वायर र कृष्ण मन्दिरको चित्रसँगै पशुपतिनाथ र धरहराको चित्रले पनि सबैलाई आकर्षित तुल्याएको थियो । धरहरा पुननिर्माणको बहस चलिरहेको यो बेला धेरैलाई धरहराको सग्लो चित्रले भीमसेनस्तम्भका नामले परिचित यो धरोहरको स्मरण ताजा बनाइदिएको थियो । गतसालको विनाशकारी भूकम्पमा ध्वस्त बनेको धरहराको चित्ताकर्षक तस्वीर यहाँ पुग्ने सबैको आँखै अगाडि सजीव बनेको थियो । चित्रकार खत्रीले भन्नुभयो, “मैले शोखकै रुपमा चित्रकला सुरु गरेको थिएँ । आफ्नै व्यक्तिगत कारणहरुले गर्दा मैले यसलाई निरन्तरता दिन सकेको थिइनँ । तर, मनमा चित्रकलामा लागिरहने अठोट बाँकी नै थियो । त्यसैले पुनः सुरु गरें । मलाई लाग्छ यी चित्रहरुले यहाँ रहेका दोश्रो पुस्ताका नेपालीहरुलाई आफ्नो कला, संस्कृति र देशको सुन्दरताको बारेमा बुझ्न मद्दत गर्नेछ । यस्तै अष्ट्रेलियामा रहेका अन्य समूदायका व्यक्तिहरुलाई पनि नेपाल घुम्न जान यसले अभिप्रेरित गर्ने मैले अपेक्षा गरेको छु । ”
स्थानीय फोष्टर पार्कमा आयोजना गरिएको प्रदर्शनी साँझ ७ः३० बजेसम्म चलेको थियो । चित्रकार खत्रीको मेहनत चित्रहरुमा प्रष्टै देखिन्थ्यो । प्रदर्शनीमा सहभागी भएका अधिकांश व्यक्तित्वहरुले उनको खुलेरै प्रशंसा गरेका थिए । नेपाल चिनाउने अनेकन उपायहरु हुन सक्छन् त्यसमध्ये चित्रकलाको माध्यमबाट पनि नेपालको कला, संस्कृति, धरोहरहरु र प्राकृतिक सुन्दरताको विषयमा अष्ट्रेलियावासीलाई सुसूचित गराउने कार्यमा प्रदर्शनी सफल देखिन्थ्यो ।