अष्ट्रेलिया आएका अभिभावकहरुको लागि एनआरएन भिक्टोरियाको उपहार


अष्ट्रेलियाको व्यस्त जीवन । यही व्यस्त जीवनमा रहेका आफ्ना सन्तानलाई भेट्न आउने अभिभावकहरुको लागि कम्ति खुशीको क्षण हुँदैन यो । तर, अभिभावकहरु पारिवारिक काममा नै व्यस्त रहँदा उनीहरुकै लागि समय निकाल्न सक्दैनन् कतिपय सन्तानले । यस्तो बेला अभिभावकहरु घरमा नै बसिरहन्छन् । कतै बाहिर निस्कनलाई आफु नसक्ने, सन्तानहरुले नभ्याउने । अब उपाय के त ? साप्ताहिक बिदाको सदुपयोगबाहेक अरु विकल्प नै नभएको बेलामा अष्ट्रेलियाबाट सुरु भयो अभिभावकहरुको निम्ति सामूहिक पिकनिकको आयोजना गर्ने एनआरएनको अभियान । यसैक्रममा सिड्नी, ब्रिसबेनमा थालिएको यो अभियानलाई एनआरएन भिक्टोरियाले पनि निरन्तरता दिएको छ । parents vic

केही समय अघि एनआरएन भिक्टोरियाले नारी निकुञ्ज अष्ट्रेलिया, अष्ट्रेलियन नेपाल मेडिकल एण्ड डेन्टल एशोसिएसन, अष्ट्रेलियन नेप्लीज सिनियर सिटिजन सोसाटईटीको संयुक्त सहकार्यमा अभिभावकहरुको निम्ति आयोजना गरेको भ्रमण र पिकनिक कार्यक्रममा करिब ७० भन्दा बढी अभिभावकहरु रमाएका थिए । मेलबर्नको मुटु मानिने फेडेरेशन स्क्वायरमा भेला भएका अभिभावकहरुलाई सेन्ट्रल डिबोरा सुनखानी बेन्डिगोसहितका क्षेत्रमा भ्रमण गराइएको थियो । भ्रमण टोलीमा सहभागी एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले एमएनटीभीसँग भने, “वास्तवमै अभिभावकहरुलाई नेपालभन्दा पर यो ठाउँमा पनि यति धेरै नेपाली भाषा बोल्नेहरु छौं भन्ने थाहा पाउँदा निकै खुशी लागेको हामीले पायौं । एकअर्कासँग परिचय गर्नेमात्र होइन, गीत गाउने, नाच्ने आदि क्रियाकलापमा उहाँहरु रमाएको देख्दा मन प्रसन्न भयो ।” यस परियोजनाकी संयोजक सिर्जना रायमाझीले पनि भनिन्, “हामीले सुरुमै दुर्गा मन्दिर लगेर दर्शन गराएका थियौं । यसपछि सुनखानीको र ट्रामको भ्रमणपछि बौद्ध स्तुपा पुगेका यियौं । समग्रमा दिनभरि नै विभिन्नखाले नयाँ नयाँ ठाउँमा पुग्न पाउँदा र विभिन्न पारिवारिक कामको सिलसिलामा मेलबर्न आइपुगेका अभिभावकहरु आफुजस्तै उमेर समूहका साथी पाउँदा औधि खुशी हुनुभयो ।” एनआरएन भिक्टोरियाले यस किसिमको कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । सहभागीहरुलाई कुनै स्वास्थ्य समस्या आइपरेमा सहयोग गर्नका लागि डा. चन्द्र पोखरेल र नर्स निर्मला पोखरेल पनि सहभागी बन्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?