नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले सम्झियो अम्बरलाई
अष्ट्रेलियाको सिड्नीमा वरिष्ठ संगीतकार अम्बर गुरुंगको स्मरण गरिएको छ । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गर्दै स्व. गुरुंगको नेपाली गीत संगीतमा उच्च योगदान रहेको भन्दै उहाँको निधनले नेपाली कला र साहित्यको क्षेत्रमा ठूलो क्षति पुगेको ठहर गरेको छ । स्थानीय अबर्नमा आयोजना गरिएको उक्त कार्यक्रममा ७८ वर्षको उमेरसम्म नेपाली गीत संगीतको क्षेत्रमा अनवरत लागेर उहाँले धैयौं सिर्जनामार्फत यसलाई विश्वमञ्चमा पुर्याउन अतुलनीय योगदान पुर्याएको चर्चा गरिएको थियो । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानका पदाधिकारी तथा नेपाली समूदायका सदस्यहरुको उपस्थिति रहेको उक्त अवसरमा सबैजनाले स्व. गुरुंगको आत्माको शान्तिको कामना गर्दै मौन धारण गरेका थिए । प्रतिष्ठानका संरक्षक विदुर ढुंगेलले स्व. गुरुंगको स्मरण गर्दै आफुले उहाँसँग संगीतको शिक्षा लिँदाको बेलाका स्मरणहरु सुनाउनु भएको थियो । यसैगरी प्रतिष्ठानका कोषाध्यक्ष प्रकृति भट्टराई, र सदस्य जिना केसीले स्व. गुरुंगको व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।