मनाङ्गेमाथि संगठित अपराधको अभियोग, १० वर्ष कैद हुनसक्ने
संगठित अपराधमा संलग्न गुन्डा नाइके दीपक मनाङेलाई प्रहरीले संगठित अपराध ऐनको अभियोग लगाएको छ ।
पाँच जना मिलेर व्यापारीलाई धम्क्याएर रकम असुली गरेको अभियोगमा प्रहरीले मनाङ्गेमाथि संगठित अपराधको अभियोग लगाएको हो । तीन वा तीनजनाभन्दा बढी मिलेर संगठित प्रकृतीको अपराध गरे संगठित अपराध ऐन को अभियोग लगाउन सकिने कानुनी व्यवस्था छ । यस अघि पक्राउ पर्दै आएका गुन्डा नाइकेमाथी सार्वजनिक अपराधको अभियोगमा प्रहरीले अनुसन्धान गर्ने गरेको थियो ।
मनाङे शुक्रबार सहयोगी राजनकुमार सिंहसहित पक्राउ परेका थिए । अन्य तीनजना फरार रहेको भन्दै प्रहरीले उनलाई संगठित अपराधको अभियोग लगाएको हो ।
व्यपारीलाई धम्क्याएर रकम असुलेको आरोपमा शुक्रबार बेलुका ठमेलमा सहयोगीसहित पक्राउ परेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा संगठित अपराधको अभियोगमा अनुसन्धानका लागी न्यायिक हिरासतमा राख्ने अनुमती मागेको हो ।
अदालतले परिसरलाई आइतबार पहिलो चरणको अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।
उनीमाथीको अभियोग पुष्टी भए उनलाई १० वर्षसम्म कैद सजाय हुनसक्छ ।