मेलबर्नको नेपसिटीले जित्यो एनआरएन अष्ट्रेलिया बास्केटबलको उपाधि
मेलबर्नको बास्केटबल टिम नेपसिटीले सिड्नीमा भएको एनआरएन डे अन्तर्गतको बास्केटबलतर्फको उपाधि कब्जा गरेको छ । फाईनलमा सिड्नीको क्लब काठमाडौंलाई २३ विरुद्ध २९ अंकका साथ नेपसिटीले उपाधिमाथि कब्जा गरेका हो । एनआरएन अष्ट्रेलियाले यस पटकदेखि सुरु गरेको स्पोर्टस डे अन्तर्गत सिडनी म्यारिकभिलस्थित पिसीवाईसी क्लबमा आयोजित प्रतियोगितामा ७ टिम सहभाग ीथिए । प्रतियोगिताको उद्घाटन एनआरएनका खेल संयोजक नन्द गुरुंगले गर्नुभएको थियो । यसैगरी प्रतियोगितामा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्यक्ष दिनेश पोखरेल, एनआरएन युथ कोअर्डिनेटर विजय पोखरेल, एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मी, एनआरएन अष्ट्रेलिया सहसचिव भिष्म भण्डारी, एनआरएन न्यूसाउथवेल्स सहसंयोजक प्रकाश खरेल, सदस्य उषा बारिया, विकास केसी, नयाका अध्यक्ष कोमल पाठक लगायत उपस्थित थिए । फाईनल प्रतिस्पर्धामा पुगेको नेपसिटी र क्लब काठमाडौंका साथै बिज बजर्स, ओएसिस वारियर्स, वेष्ट युनाईटेड क्रोकोडायल, थकाली र नयाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । उपाधिसँगै नेपसिटीका सविन गुरुंग हाई स्कोरर घोषित भए भने बेष्ट डिफेन्सिभ प्लेयर दिक्षान्त प्रधान (क्लब काठमाडौं), बेष्ट प्वाईन्ट गार्ड कृष्ण गुरुंग (क्लब काठमाडौं) र मष्ट भ्यालुयबल प्लेयर नेपसिटीका सुदिप महर्जन घोषित भए । विजयीहरुलाई एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन स्पोर्टस कोअर्डिनेटर नन्द गुरुंग लगायतले पुरस्कार वितरण गर्नुभयो । बास्केटबल प्रतियोगिताका संयोजक सुमन बोहराले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सहभागी सबै टिमहरुलाई धन्यवा दिनुभयो । साथै, प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्ने एनआरएनका स्वयंसेवीहरु, प्रायोजक, मिडिया र खेलाडीहरुलाई आगामी दिनमा अझ बढी सहभागिताको अपेक्षा आफुहरुले गरेको पनि बोहराले बताए । यसअघि भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको एनआरएनले बास्केटबलपछि अब फुटबलाक खेलहरु आयोजना गर्ने तयारी गरेको छ ।