एनआरएन न्यूसाउथवेल्सबाट नेपालमहोत्सवबारे समूदायसँग छलफल, २९ तारिख वार्षिक कार्यक्रम
एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिले आगामी नोभेम्बरमा आयोजना गरिने नेपाल महोत्सव बारे सामूदायिक संघ संस्था र एनआरएनका अग्रजहरुसँग छलफल सम्पन्न गरेको छ । रकडेलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले नेपाल महोत्सव सबैको कार्यक्रम भएकोले यसमा खुला रुपमा सहभागिताको लागि आह्वान गर्नुभएको थियो । “विभिन्न क्षेत्रमा २६ वटा टिम निर्माण गर्ने हाम्रो तयारी छ । यसैका लागि सबै संघ संस्थाहरुबाट के कस्तो सहभागिता हुनसक्छ यस विषयमा लिखित नै सहभागिताको ईच्छा देखाउन हामीले आग्रह गरेका थियौं । अब छिट्टै उहाँहरुको सुझाव अनुसार उहाँहरुको समेत सहभागितामा कमिटीहरु बन्छन्,” पोखरेलले एमएनटीभीसँग भन्नुभयो । कार्यक्रममा सिड्नीमा रहेका ४० भन्दा बढी संघ संस्थाका प्रतिनिधिका साथ एनआरएन संरक्षक ईन्द्रा वन, प्रवक्ता रञ्जु वाग्ले, युथ कोअर्डिनेटर विजय पोखरेल लगायत उपस्थित हुनुहुन्थ्यो । एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले मे महिनाभित्रमा ६ वटै राज्यमा नेपाल महोत्सव सम्पन्न भइसक्ने बताउनुभएको थियो । यस्तै पूर्वअध्यक्षहरु मन केसी, महेन्द्र ओलीले धेरैभन्दा धेरै विदेशीलाई आकर्षित गर्न सकिनेगरी नेपाल महोत्सव गर्नुपर्ने र नेपाली नेपालीबीचको एकतालाई पनि यस महोत्सवले प्रबद्र्धन गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा व्यक्त सुझावहरुलाई लिपिबद्ध गर्नका लागि पत्रकार टिका कार्की, हेमन्त काफ्ले र प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीको प्यानल बनाइएको थियो । समूदायका निम्ति कार्यक्रम गर्दा यसै क्षेत्रमा क्रियाशिल रहेका अन्य संघसंस्थाहरुको राय पनि लिनु आवश्यक ठानेर छलफल गरिएको एनआरएन अष्ट्रेलियाका प्रवक्ता एवं उक्त छलफल कार्यक्रमको प्यानलिष्ट डा. ज्ञानेन्द्र रेग्मीले भन्नुभयो, “पूर्वअध्यक्षहरुसहित अग्रजहरुको एउटा टिम बनाएर यहाँको राजनीतिक र सामाजिक नेतृत्वमा रहेकाहरुलाई पनि सहभागी गराउन योजना बनाउँ भन्ने सुझाव आएको छ ।” यसैबीच, एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिले आगामी जुलाई २९ तारिखका दिन ब्ल्याक टाउनमा वार्षिक कार्यक्रम गर्ने भएको छ । गएको १२ महिनामा गरेका कामहरुको समिक्षा र आगामी दिनमा गरिने योजनाहरुको विषयमा छलफल हुने र पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमको निम्ति च्यारिटी डिनर समेत गरिने भएको दिनेश पोखरेलले जानकारी दिनुभयो । यसका लागि एससीसी सदस्य निजन चौलागाईंलाई संयोजक तोकिएको छ ।