लाप्राकमा एनआरएनले बनाउने घरहरुको माष्टरप्लान अगष्टभित्रमा बनिसक्ने : अध्यक्ष शेष घले (भिडियोसहित)


IMG_1341एनआरएन अध्यक्ष शेष घलेले नेपालमा गतवर्ष गएको विनाशकारी भूकम्पमा क्षतिग्रस्त बनेको लाप्राकमा बनाउन लागिएको ६ सय घरको माष्टर प्लान आगामी अगष्ट महिनाभित्र तयार गरिसक्ने बताउनुभएको छ । आफ्नै गृहनगर अष्ट्रेलियाको मेलबर्नमा आयोजना गरिएको एक ‘अनौपचारिक’ छलफल कार्यक्रममा अध्यक्ष घलेले यस्तो जानकारी दिनुभएको हो । एनआरएनका उपाध्यक्ष एवं भिक्टोरिया संयोजक केशव कँडेलले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा एनआरएनले गरेका कामहरुको विषयमा जानकारी दिँदै अध्यक्ष घलेले भूकम्प पीडितको लागि गरिएको सहयोग संकलन रकमबारे एनआरएनको ७१ देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले लेखा प्रतिवेदन बुझाउनुपर्ने पनि बताउनुभयो । अध्यक्ष घलेले भन्नुभयो, “म आग्रह गर्दछु यदि एनआरएनलाई विश्वास गर्नुहुन्छ भने अन्य संघ संस्थाले पनि भूकम्प पीडितका लागि सहयोग रकम कहीँ छ भने हामीलाई पठाउनुहोस् । मलाई स्वीटजरल्याण्डमा बोलाइराखिएको छ । ७० हजार स्वीस फ्र्यांक छ भनिएको छ । ईटलीबाट ११७ हजार युरो पठाइदिनुभयो त्यहाँको अनररि कन्सुल जनरलले ।” गएको एक वर्षमा २० करोड निक्षेप रकम जम्मा गरेर त्यसको ५० लाख व्याजमात्रै आर्जन गरेको जानकारी पनि उहाँले दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका महासचिव टोनु घोतानेले अझै पनि एनआरएन अष्ट्रेलियासँग ६० हजार डलर खातामा रहेको र यो रकमलाई एक लाख डलर पुर्याएर आईसीसीलाई हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो । यसै प्रसंगमा एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले पनि समर्थन गर्दै नेपाल महोत्सव लगायतका कार्यक्रमबाट संकलन हुने रकमबाट ६० हजारमा थप गर्दै एक लाख डलर थप सहयोग गर्ने योजना रहेको बताउनुभएको थियो । IMG_1342कार्यक्रममा अध्यक्ष घलेले लाप्राकमा बसाउन लागिएको वस्तीका लागि अन्य गैरसरकारी संस्थासँग सहकार्य गर्ने अधिकार समेत एनआरएनसँग भएको जानकारी दिनुभएको थियो । “त्यहाँ स्वयंसेवकहरु खटाउने योजना छ । स्वयंसेवक परिचालनका लागि आवश्यक पर्ने नीति बनाउने कार्यमा दिपा राई लागिराख्नुभएको छ । यस्तै वस्तीको माष्टर प्लानका लागि हामीले आह्वान गरेको टेण्डरमा ६ वटा प्रस्ताव आएका छन् । यीमध्ये उपयुक्त योजनालाई छिट्टै पारित गर्ने हाम्रो प्रयत्न छ ।” घलेको भनाई थियो ।

आपूmहरुले सरकारले दिएको ३ सय २५ रोपनी जग्गाको स्वामित्व त्यहाँ घरको महिला सदस्यको नाममा दिलाउने प्रयास गर्ने पनि घलेको भनाई छ । “एउटा नमूनाको रुपमा यस पुननिर्माणको योजनालाई हामी अघि बढाउन चाहन्छौं ।” स्मरणीय छ गत अप्रिल २४ तारिखका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले एनआरएनले लाप्राकमा बनाउने वस्तीको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष घलेले पुननिर्माणसँगै एनआरएनले आफ्नै भवन काठमाडौंको बालुवाटारमा निर्माण गर्नका लागि पनि कार्यलाई तिव्रता दिएको जानकारी दिनुभयो । साथै खुला विश्वविद्यालयको स्वीकृति सरकारले दिएपछि यसलाई मूर्तरुप दिन पनि प्रयत्नहरु अघि बढेको जानकारी दिनुभएको थियो । एनआरएन भवन निर्माणका लागि अमेरिकामा गर्न लागिएको क्षेत्रीय सम्मेलनबाट समेत सहयोग जुट्ने उहाँले आशा व्यक्त गर्नुभयो । कार्यक्रम अध्यक्ष घलेले दिनुभएको मन्तव्यको भिडियो यो लिंकमा गएर हेर्न सक्नुहुनेछ

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?