करिश्माले फिल्मी करिअरको ३० औं वर्षउत्सव सिड्नीमा तीज सेलिव्रेसनसँगै मनाउने


Karishma
Photo : Supplied

नायिका करिश्मा मानन्धरले आफ्नो करिअरको ३० औं वार्षिकउत्सव अष्ट्रेलियामा मनाउने भएकी छिन् । वि.सं. २०४२ सालमा १४ वर्षकै उमेरमा पहिलो चलचित्र सन्तानबाट नेपाली रजतपटमा उदाएकी नायिका करिश्मा मानन्धर अहिले पनि सदाबहार नायिकाकै रुपमा चर्चित छिन् । उनको ३० वर्षको फिल्मी करिअरलाई उत्सवका रुपमा मनाउन र अष्ट्रेलियावासी नेपालीको तर्फबाट सम्मान गर्ने तयारी गरिएको हो । बिहीबार नायिका करिश्मा मानन्धर यही कार्यक्रमका साथै तीज समेत मनाउन सिड्नी आइपुगेकी छिन् । उनको साथमा गायिका मेलिना राई पनि बिहीबार विहान १० बजेको उडानबाट सिड्नी आइपुगिन् । विमानस्थलमा आयोजक नेपाली टच अष्ट्रेलियाको तर्फबाट दिपेश पुन र राजकुमार गोश्वामी, नेपमार्टको तर्फबाट न्यान्सी पुन र लक्ष्मी होम्सको तर्फबाट किशोर आचार्य र सोना तिम्सिनाले स्वागत गरेका थिए । यसैगरी विमानस्थलमा कलाकारहरुको स्वागतका लागि एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेल, एनआरएन आईसीसी सदस्य भोमा लिम्बु पनि पुग्नुभएको थियो । स्वागतपछि संक्षिप्त प्रतिक्रिया दिँदै नायिका करिश्मा मानन्धर र मेलिना राईले पहिलो पटक अष्ट्रेलिया आउँदा निकै खुशी लागेको बताएका थिए । उनीहरुले कार्यक्रमका सहभागी हुन सबै सिड्नीबासीलाई आग्रह समेत गरेका छन् ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन उनीहरु अष्ट्रेलिया आएका हुन् । अमेरिकाको लामो बसाईपछि स्वदेश फर्किएकी करिश्माको यो पहिलो अन्तर्राष्ट्रिय शो हो । तीजको अवसरमा आयोजना गरिएको यस कार्यक्रमलाई २०१६ तीज सेलिब्रेसनको नाम दिइएको छ । १७ जुलाईका दिन मराना अडिटोरियममा आयोजना गरिने कार्यक्रममा करिश्मा मानन्धरलाई मेलिना राईले आफ्ना गीतहरुमार्फत साथ दिनेछिन् । नेपाली टच अष्ट्रेलियाले आयोजना गर्न लागेको यस तीज सेलिब्रेसनमा करिश्मा र मेलिनाका साथै अन्य स्थानीय कलाकारहरुको समेत आकर्षक प्रस्तुति रहनेछ । यससँगै नेपमार्टले फेशन शो समेत गर्नेछ । सिड्नीमा रहेका करिब २५ भन्दा बढी मोडलहरुको साथमा करिश्मा मानन्धरले समेत र्याम्पमा क्याटवाक गर्ने तयारी गरिएको छ । साँझ ६ बजेबाट सुरु हुने तीज विशेष कार्यक्रम राति अबेरसम्म चल्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?