डा. गोविन्द केसीको समर्थनमा सिड्नीमा ऐक्यबद्धता प्रदर्शन
नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको बेथितीको विरोध गर्दै अनसन सुरु गर्नुभएका डा. गोविन्द केसीको समर्थनमा अष्ट्रेलियाको सिड्नीमा एक कार्यक्रम सम्पन्न भएको छ । शनिबार स्थानीय हाईड पार्कमा गरिएको कार्यक्रममा ६० जनाभन्दा बढी सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै डा. भुवन कँडेलले डा. केसीले सुरु गर्नुभएको अभियान देशहितमा भएको भन्दै यसलाई सबैले समर्थन गर्नुपर्ने बताउनुभयो । यसैगरी आयोजकमध्येका एक डा. घनश्याम चापागाईंले सरकारले डा. केसीको आन्दोलनलाई बेवास्ता गरेको आरोप लगाउँदै समस्याको छिटोभन्दा छिटो समाधान गर्नका लागि सरकारले अग्रसरता देखाउनुपर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा युवाहरुकोतर्फबाट बोल्दै युटिएसका विद्यार्थी विजय सापकोटाले युवाहरु सदैव डा. केसीको अभियानको साथमा रहेको भन्दै ऐक्यबद्धता जनाएका थिए । यसैगरी मिलन पाठकले कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालका राजनीतिक दलका नेताहरुले लज्जाबोध गर्नुपर्ने भन्दै पटक पटक अनसन बस्ने अवस्था आउँनु दुःखद भएको बताए । कार्यक्रमका संयोजकमध्येकै एक एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले डा. केसीको अभियानमा नेपालको बौद्धिक वर्गले साथ दिनुपर्ने र यो अभियानलाई अझै उचाईमा लैजानुपर्ने बताउनुभएको थियो ।