करिश्मा र मेलिनाका साथ ८ सयभन्दा बढीको उपस्थितिमा सकियो तीज सेलिव्रेसन
– सुमन शिवाकोटी (सिड्नी)
सिड्नीमा हरेक साताजस्तो नेपाली कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । हर्सटभिलस्थित मराना अडिटोरियममा नै पनि कम्तिमा महिनामा एउटा कार्यक्रम त भएकै छन् । तर, यही अडिटोरियममा आइतबार भने बेग्लै रौनक देखियो । अडिटोरियमको हल भरिएर माथि बाल्कोनीमा समेत दर्शकहरु समेत तीज सेलिव्रेसनको यो रमाइलोमा झुम्न व्यस्त देखिन्थे । “८ सयभन्दा बढी दर्शकको उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो, निकै खुशी लागेको छ ।” आयोजक नेपाली टच अष्ट्रेलियाका राजकुमार गोश्वामीले एमएनटीभीलाई बताए । “योभन्दा पनि बढी दर्शकहरुबाट स्तरीय कार्यक्रम हेर्न पाएकोमा धन्यवाद पायौं यो हाम्रो लागि ठूलो उपलब्धी हो”, नेपाली टचकै दिपेश पुनले भने । नेपमार्ट लक्ष्मी होम लोन्स २०१६ तीज सेलिव्रेसन नाम दिइएको यस कार्यक्रममा महिलाहरुमात्र होइन पुरुष सहभागी पनि प्रशस्तै देखिन्थे । कार्यक्रमको प्रमुख आकर्षण बनेकी नायिका करिश्मा मानन्धरसँगै नाच्न तयार भएर सिड्नीवासी नेपाली महिलाहरु आएका थिए भने गायिका मेलिना राईका कर्णप्रिय स्वरमा झुम्ने पनि उनीहरुको योजना देखिन्थ्यो । कार्यक्रमको प्रमुख अतिथि एनआरएन प्रवक्ता रञ्जु वाग्ले हुनुहुन्थ्यो भने स्वागत रिनु महर्जनले गरेकी थिइन् । कार्यक्रममा डोलीमा सजिएर करिश्मा मानन्धरले स्टेजमा ईन्ट्री गरिन् । उनलाई फिल्मी करिअरको ३० औं बसन्त पार गरेको अवसरमा सम्मानपत्र प्रमुख अतिथि वाग्ले हस्तान्तरण गर्नुभएको थियो । यति मात्र होइन, करिश्मा मानन्धरको चलचित्र यात्रालाई समेटिएको भिडियो पनि उक्त अवसरमा देखाइएको थियो । सिड्नीमा पाएको न्यानो आतिथ्य र सम्मानले आफुलाई अझै यो क्षेत्रमा केही गर्ने ऊर्जा प्राप्त भएको नायिका मानन्धरको भनाई छ । यस्तै गायिका मेलिना राईले उपस्थित सबैलाई कुर्सीमा बसिरहन नसक्ने बनाइन् । उनका गीतमा तीजको रमाइलो मिसाउँदै नाचिरहेको दृश्य वास्तवमै उत्साहवद्र्धक थियो । आफ्नो नृत्यको माध्यमबाट सिर्जना आले, जुली फागमी, मुना थापा, रघु जुगजाली, तजेन्द्र पुनका साथै दोश्रो पुस्ताका साना बालबालिकाहरुले पनि नृत्य प्रस्तुत गरेर उपस्थितहरुलाई मनोरञ्जन दिलाए । पछिल्लो समयमा पाश्र्व गायनबाट लाखौं श्रोताको मनमा बस्न सफल गायिका गायिका मेलिना राईले आफ्ना हिट नम्बरको साथमा तीजको रौनक थपिन् भने उनलाई पनि सम्मान गरिएको थियो । यसैगरी नारी निकुञ्ज अष्ट्रेलियाकी अध्यक्ष सिर्जना संग्रौलाले पनि उक्त अवसरमा सबैमा तीजको शुभकामना दिनुभएको थियो ।
मोडलिङमा ईन्दिरा रोका र सम्झना तामाङको कोरियोग्राफीमा पुनम, सुरभी मानन्धर, अउब्सा ढकाल, सविना पुन, पुनम, सम्झना तामाङका साथ स्वयं करिश्मा मानन्धरले पनि विभिन्न परिधानको प्रदर्शन गरेका थिए । समग्रमा यस वर्षको तीजमा अष्ट्रेलियामै अहिलेसम्म आयोजित भव्य कार्यक्रमका रुपमा आपूmलाई प्रमाणित गर्दै यस वर्षको तीज सेलिव्रेसन सम्पन्न भएको थियो ।