मेलबर्नको २०३ औं भानु जयन्तीमा अमर न्यौपानेसँग अन्तरक्रिया


मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको प्रमुख आतिथ्यमा २०३ औं भानु जयन्ती समारोह मेलबर्नमा मनाइएको छ । नेपाली भाषाका माध्यमबाट नेपाली समाजलाई एकीकृत गर्ने आदिकवि भानुभक्तको २०३ औं जन्मजयन्तीको अवसरमा साहित्य संगीतक जमघटले आयोजना गरेको कार्यक्रममा बोल्दै साहित्यकार न्यौपानेले आफ्ना पुस्तकहरु कुन परिवेशमा तयार भए भन्ने विषयमा जानकारी दिनुभएको थियो । IMG_1985साहित्यकार न्यौपानेले कुनैपनि स्थानको वास्तविक चित्र पाउनका लागि आफुले त्यही परिवेशमा आफुलाई ढालेर त्यहाँको सुगन्ध पाठकहरुमाझ पस्केको बताउनुभयो । न्यौपानेको भनाई थियो, “धेरैले सेतो धर्तीका पात्रहरु अहिले पनि छन् ? भनेर प्रश्न गर्नुभयो । तर, मैले जुन कुरा देवघाटमा महसूस गरें । जुन भावना उहाँहरुको मैले अनुभूत गरें त्यसैलाई बाल विधवाको भाषामा उतारेको हुँ ।” कार्यक्रममा बोल्दै साहित्य संगीत जमघटको तर्फबाट पेशल लुईटेलले अमर न्यौपानेलाई भानुजयन्तीको अवसरमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभएको थियो । यसैगरी उक्त अवसरमा नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. अनुपम पोखरेल, एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले भिक्टोरियावासीको तर्फबाट साहित्यकार न्यौपानेलाई स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले साहित्यकार न्यौपानेको कृतिहरुबाट नेपाली समाजले धेरै सकारात्मक ज्ञान लिनसक्ने पनि बताउनुभयो । उहाँले साहित्य संगीत जमघटको कार्यको प्रशंसा गर्दै साहित्यकारहरुको निम्ति नियमित कार्यक्रम आयोजना गरेर विदेशी भूमिमा पनि भाषा र साहित्यको जगेर्नामा जमघटले योगदान दिएको बताउनुभएको थियो । उक्त अवसरमा साहित्यकारहरु माधव पौडेल, पार्वती पहारी, अर्जन पौडेल, सन्तोष घिमिरे, श्याम पाण्डे, नोर्गेन नोर्बु, दावा लामा, श्री थापा, अनुपम सायर, निरु त्रिपाठी, दिक्पालदेव पंगेनी, बासुदेव मरहठ्ठा, डा. अनुपम पोखरेल, दिपक आचार्य, द्रोण पन्त र गौतम लामिछानेले आफ्ना रचना वाचन गर्नुभएको थियो भने गायक प्रविन श्रेष्ठले गीत प्रस्तुत गर्नुभएको थियो । साहित्यकार न्यौपानेलाई उनको कृतिहरुको बारेमा उपस्थित दर्शकश्रोताले जिज्ञासा पनि राखेका थिए । (थप तस्वीरहरु हाम्रो फेसबुकपेजमा हेर्न सक्नुहुनेछ ।)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?