सिड्नीमा ३४ औं स्मृति दिवसको अवसरमा वीपी विचारको स्मरण


नेपाली राजनीतिका महामानव वीपी कोइरालाको अष्ट्रेलियाको सिड्नीमा स्मरण गरिएको छ । वीपी कोइरालाको ३४ औं स्मृति दिवसको अवसरमा जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा वीपीका विचारहरु अहिले पनि सान्दर्भिक रहेको चर्चा गरिएको हो ।

bp in sydney
Photo : Supplied

एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका वक्ताहरुले वीपीको बाटोलाई अंगाल्न सकेमात्र नेपालमा प्रजातन्त्र स्थापना र अहिलेको परिवर्तनलाई संस्थागत गर्न सकिन्छ भन्ने सबैको मत रहेको जनसम्पर्क समिति अष्ट्रेलियाका संरक्षक प्रेम सापकोटाले एमएनटीभीलाई बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि सिग्देलले वीपीको बाटोमा हिंड्न सकेमात्र नेपालको विकासले नयाँ पुस्तालाई समेत लाभ दिने बताउनुभयो । उहाँले वीपी नेपालको मात्र नेता नभएर विश्वमै प्रजातन्त्रप्रति प्रतिबद्ध नेताका रुपमा दरिएको धारणा राख्नुभयो । उक्त अवसरमा संरक्षक सापकोटाले किसानलाई हेरेर बजेट बनाउँ, गरिब जनतालाई हेरेर कुर्सीमा बस भन्ने वीपीको विचार महान रहेको धारणा राख्नुभएको थियो । वीपी र महेन्द्रको सम्बन्धको पनि कार्यक्रममा चर्चा भएको थियो । उक्त अवसरमा जनसम्पर्क समिति अष्ट्रेलियाका कृष्ण गिरी, विवेक थापा, एनआरएनका पूर्व आईसीसी सदस्य निरज श्रेष्ठ, पत्रकार माधव गैरे, नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसनका सचिव निजन चौलागाईं, एनआरएन न्यूसाउथवेल्सका सचिव भुपाल सिटौला, सल्लाहकार थानु शाक्य लगायतले पनि बोल्नुभएको थियो । कार्यक्रम अबर्नस्थित सइनो रेष्टुरेन्टमा आयोजना गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?