सप्तरीका बाढीपीडितलाई सहयोग गर्न मेलबर्नमा अभियान
हालै आएको अविरल वर्षाका कारण डुवानमा परेको सप्तरी जिल्लाका बाढी पीडितहरुको लागि सहयोग जुटाउन मेलबर्नमा अभियान थालिएको छ । सप्तरी निड्स यू नाम दिएर नेपाली भाषा, संस्कृति जगेर्ना गर्न मेलबर्नमा क्रियाशील संस्था सोलाङचरले सुरु गरेको यो अभियानका अभियन्तामध्येका एक राजु शाक्यले भने “यसरी प्राप्त हुने सहयोगलाइ डुवानका कारण घरबारविहीन भएर जंगलमा बस्न बाध्य नेपालीहरुको निम्ति पठाइनेछ । यहाँ संकलन भएको रकमले हामी अत्यावश्यक सामान, टेन्ट, औषधि खाना लगायत किनेर त्यहाँ पठाउने तयारीमा छौं ।” यो सहयोगलाई गायक रोहित जोन क्षेत्रीले आफैं पुगेर हस्तान्तरण गर्ने पनि शाक्यले जानकारी दिनुभयो । आफ्नो कन्सर्टको सिलसिलामा यतिबेला गायक क्षेत्री अष्ट्रेलियामा छन् । “देशलाई परेको बेला हामीले हिजो पनि गर्दै आएका थियौं र अहिले पनि यही सहयोगको निरन्तरता हो । सप्तरी दुख्दा हामीलाई पनि दुख्छ”, शाक्यले एमएनटीभीसँग भने । सहयोग रकम राजु शाक्यको वेष्टप्याक बैंकमा रहेको खाता नम्बर ७३३०००७६६३४६ मा जम्मा गर्न सकिनेछ । दाताहरुको नामावली सार्वजनिक गर्दै सहयोग बाढी पीडितहरुसम्म पारदर्शी ढंगमा पठाउने तयारी भएको छ । हमी पनि अष्ट्रेलियावासी नेपालीहरुलाई सप्तरीका बाढी पीडितको निम्ति सहयोग गर्न आह्वान गर्दछौं ।