पशुपति शर्मा र मञ्जु पौडेललाई गुल्मी समाज भिक्टोरियाको सम्मान
मेलबर्नमा गुल्मी समाज भिक्टोरिया र प्रवासी नेपाली मञ्च भिक्टोरियाको संयुक्त आयोजनामा स्थानीय पाम्स रेष्टुरेन्टमा आयोजना गरिएको तीज विशेष कार्यक्रममा चर्चित लोकगायक पशुपति शर्मा र गायिका मञ्जु पौडेललाई समाजको तर्फबाट सम्मान गरिएको छ । गीत संगीतको माध्यमबाट समाजमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी क्रियाशील हुनका लागि यो प्रोत्साहन र सम्मान गरिएको गुल्मी समाज भिक्टोरियाका अध्यक्ष जनक गौतमले बताउनुभयो । कार्यक्रममा उहाँहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । यससँगै पशुपति शर्मा र मञ्जु पौडेलको तीज धमाका अन्तर्गतको अष्ट्रेलिया टूर सकिएको छ । यसअघि उनीहरुले सिड्नी, क्यानबेरा, मेलबर्नमा आफ्ना प्रस्तुतिमार्फत नेपाली नारीहरुको महान चाड तीजको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त अवसरमा गुल्मी समाजकै गान्धी पण्डितले यस वर्षको तीज ऐतिहासिक बनेको भन्दै देशबाट टाढा आएर पनि देशकै झल्को दिने कार्यमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।