मेलबर्नमा प्रवासी नेपाली मञ्चको तीज धमाका, पशुपति शर्मा र मञ्जु पौडेलका साथ नाचे नारीहरु
प्रवासी नेपाली मञ्च भिक्टोरियाको आयोजनामा मेलबर्नमा तीज धमाका सम्पन्न भएको छ । स्थानीय ईस्टोनिया हाउसमा आइतबार आयोजना गरिएको कार्यक्रममा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र गायिका मञ्जु पौडेलले आफ्नो प्रस्तुतिमार्फत उपस्थितहरुलाई मनोरञ्जन दिलाएका थिए । करिब तीन घण्टा चलेको कार्यक्रममा पशुपति शर्माले आफ्ना चर्चित गीतहरुका साथै लाईभ मञ्जु पौडेलसँग लाईभ दोहोरी समेत गर्न भ्याए । मञ्जु पौडेलले पनि आफ्ना लोकप्रिय गीतका साथै पशुपति र गायक विराज थापाको दोहोरीलाई तत्कालै जवाफ फर्काउँदा उपस्थित युवायुवती निकै रमाइलो मानिरहेका थिए । नेकपा एमालेका नेता एवं भरतपुर उपमहानगरपालिका पूर्वउपमेयर देवी ज्ञवालीले नेपालको राष्ट्रिय गानको शुभारम्भमार्फत कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । हाल पारिवारिक भ्रमणको सिलसिलामा मेलबर्नमा रहनुभएका ज्ञवालीले कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने प्रायोजक, विभिन्न संघ संस्थाका साथै सञ्चारकर्मी र कलाकारहरुलाई पनि प्रशंसापत्र र सम्मान प्रदान गर्नुभयो । उक्त अवसरमा प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपाने, सचिव उत्तम अधिकारी, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका प्रमुख संरक्षक जगदिश तिम्सिना, उपाध्यक्ष राम रानाभाट, भिक्टोरिया ईन्चार्ज महेन्द्र कार्की, सल्लाहकार लक्ष्मी अधिकारी, किरण पौडेल, सदस्य प्रकाश सेढाईले सम्मानका लागि साथ दिनुभएको थियो । करिब ४ सयभन्दा बढी दर्शक उपस्थित कार्यक्रममा पशुपति शर्मा र मञ्जु पौडेललाई स्थानीय गायक विराज थापाले साथ दिएका थिए । कार्यक्रमको संयोजक प्रभात पौडेल हुनुहुन्थ्यो । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपानेले सफल तुल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । कलाकारहरु शर्मा र पौडेल सिड्नी, क्यानबेराको कार्यक्रम सम्पन्न गरेर मेलबर्न आइपुगेका थिए । गायक शर्मा मेलबर्नबाटै बुधबार नेपाल फर्कदै हुनुहुन्छ । कार्यक्रमका केही तस्वीरहरु, बाँकी हाम्रो फेसबुक पेजमा हेर्न सक्नुहुनेछ