गायक पशुपति शर्मालाई भिक्टोरियाको महावाणिज्यदूतको कार्यालयमा स्वागत सम्मान
चर्चित लोकगायक पशुपति शर्मालाई अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि नेपाली महावाणिज्यदूतको कार्यालयमा बुधबार सम्मान गरिएको छ । अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले नेपाली लोकगीतको माध्यमबाट समाजलाई महत्वपूर्ण योगदान दिएको र डायस्पोराको नेपाली समूदायलाई समेत एकीकृत गर्न मद्दत गरेको भन्दै सम्मान गर्नुभएको हो । खादा ओढाएर शर्माको सम्मान गरिएको थियो । उक्त अवसरमा प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपाने पनि सहभागी हुनुहुन्थ्यो । प्रवासी नेपाली मञ्चकै कार्यक्रममा भाग लिनका लागि गायक पशुपति शर्मा र गायिका मञ्जु पौडेल भिक्टोरिया आउनुभएको थियो । सम्मानपछि बोल्दै गायक शर्माले अष्ट्रेलियाको हरेक भ्रमण विशेष भ्रमण हुने गरेको सुनाउँदै यस पटक सिड्नी, क्यानबेरा र मेलबर्नका तीज कार्यक्रमहरु विशेष बनेको प्रतिक्रिया दिनुभयो । दर्शकहरुको मायाले हामीलाई सदैव हौसला दिइरहन्छ । विदेशी भूमिमा पनि आफ्नैपनको महसूस गराइरहन्छ, उनको भनाई थियो । महावाणिज्यदूत योञ्जनले नेपालबाट मेलबर्न आईपुग्ने अतिथिहरुलाई सम्मान गर्ने परम्परा रहेको भन्दै गायक शर्माको प्रगतिको कामना गर्नभयो ।