अष्ट्रेलियाका नेपाली शैक्षिक परामर्शदाताहरुको छाता संगठन एकाको नयाँ अध्यक्षमा निरज श्रेष्ठ चयन


niraj shresthaअष्ट्रेलियामा कार्यरत नेपाली शैक्षिक परामर्शदाताहरुको छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्टस एलायन्सले आफ्नो तेश्रो साधारण सभाबाट निरज श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सिड्नीमा सम्पन्न साधारण सभाले श्रेष्ठसँगै उपाध्यक्षमा भुपाल सिटौला र बद्री जैसी, सचिवमा सुरज श्रेष्ठलाई पनि चयन गरेको छ । यस्तै सहसचिवमा राजमान थकाली, कोषाध्यक्षमा सुभांशप्रसाद साह र सदस्यहरुमा बालचन्द्र भट्टराई, सन्दीप खनाल, अभिमानसिंह बस्नेत, नारायण कोइराला र कमल लामिछाने निर्विरोध चयन भएका छन् । यस साधारण सभामा अष्ट्रेलियामा कार्यरत रहेका ३० भन्दा बढी शैक्षिक परामर्शदाता संस्थाहरुको सहभागिता रहेको थियो । एमएनटीभीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफुले शैक्षिक परामर्श सेवालाई थप मर्यादित, थप व्यवस्थित बनाउँदै लैजाने अठोट लिएको बताउनुभयो । aacaउहाँले अष्ट्रेलियामा उच्च शिक्षाका लागि आउन चाहने नेपाली विद्यार्थीहरुका लागि सामूहिक रुपमा एलायन्सकै पहलमा जानकारीमूलक सेसनहरु सञ्चालन गर्न पहल गर्ने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालबाट ठूलो संख्यामा विद्यार्थीहरु अष्ट्रेलियन विश्वविद्यालय र कलेजहरुमा अध्ययन गर्न आइरहेको सन्दर्भमा भिसा आवेदन नेपालमा नै दिन पाउने व्यवस्था गर्न पनि यो कार्यसमिति पहललाई तिव्रता दिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी सेल्फ रेगुलेटेड संस्था हौं । हाम्रो कार्यशैली र हामीले अपनाएका विभिन्न सजगताको विषयमा अष्ट्रेलियन हाई कमिशनलाई जानकारी दिँदै हाई कमिशनकै वेवसाईटमा पनि एक्काको बारेमा र यसका सदस्यहरुको बारेमा जानकारी समेट्नका लागि समेत पहल गर्ने मेरो प्रयास हुनेछ ।” साधारणसभामा विद्यार्थीहरुको हित अभिबृद्धिका लागि संगठनकै तर्फबाट पनि छुट्टै कल्याणकारी कोष निर्माण गर्ने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । “सबैको सहकार्य र छलफलमा हामी एलायन्समा आबद्ध संस्थाहरुको सामूहिक हितमा लागिपर्नेछौं,” श्रेष्ठको भनाई छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?