मेलबर्नमा दि हिमालयन क्लबको हिमालय साँझ र एवार्ड वितरण सम्पन्न (भिडियोसहित)
मेलबर्नमा क्रियाशील दि हिमालयन क्लबले आफ्नो एवार्ड वितरण कार्यक्रमसँगै हिमालय साँझ सम्पन्न गरेको छ । स्थानीय ईस्टोनिया हाउसमा आईतबार भएको कार्यक्रममा क्लबका खेलाडीहरुका साथै क्लबलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । क्लबका अध्यक्ष बम योञ्जनको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले नेपाली खेलाडीहरुलाई प्रोत्साहित गर्ने काम मात्र होइन कला, संगीत र संस्कृतिको क्षेत्रमा समेत हिमालय क्लबले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । हिमालय क्लबको प्रमुख प्रायोजक कँडेल कन्सल्टेन्सीका राज कँडेलले उक्त अवसरमा बोल्दै खेलाडीहरुलाई प्रोत्साहन गर्ने र बहुसांस्कृतिक भूमिमा नेपाली समूदायको दरिलो उपस्थिति देखाउनका लागि क्लबले खेलको भूमिकाको प्रशंसा गर्नुभयो । कँडेल र अध्यक्ष बम योञ्जनले संयुक्त रुपमा आउटस्ट्याण्डिंग क्रिकेट प्लेयरको उपाधि अष्ट्रेलियाको स्थानीय क्लबबाट खेलिरहेका नेपाली क्रिकेट खेलाडी सुनम गौतमलाई प्रदान गरिएको थियो । ११२८ डलरसहित प्रशंसापत्रले उनले क्रिकेटको क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै गौतमलाई पुरस्कृत गरिएको हो । उक्त अवसलमा हिमालय क्लबले ५० घण्टा म्यारथन योगा गर्ने गिनिज बुक अफ वल्र्ड रेकर्डधारी उक्तम मोक्तानलाई पनि सम्मान गरिएको थियो । यससँगै क्लबले आफ्ना खेलाडी र क्लबका स्वयंसेवक र कलाकारहरुलाई विभिन्न विधामा पुरस्कृत गर्यो । उक्त हिमालय साँझमा क्लबलाई सञ्चारको क्षेत्रमा सहयोग गरेको भन्दै हिमालय कंगारुका अरुण लम्साललाई पनि सम्मान गरिएको थियो ।
क्लबका उपाध्यक्ष भोला गिरीले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यसैगरी सहकार्यका साथ आफ्ना गतिविधिलाई क्लबले निरन्तरता दिने बताउनुभएको थियो । साउथ एशियन कम्युनिटी लिंक ग्रुपका अध्यक्ष राजु अधिकारी, सिटी अफ मोरल्याण्डकी मेयर समान्था रत्नम, विल्सका लागि फेडरल एमपी पिटर खलिल, ह्युम सिटी काउन्सिलका डेप्युटी मेयर चन्द्रा बमनुसिंघे, सिटी अफ मोरल्याण्डका पूर्वमेयर टिम लरेन्स र ग्रिको गिटानोले शुभकामना दिँदै बहुसांस्कृतिक भूमिमा क्लबले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । हिमालय साँझलाई मनोरञ्जन बनाउन क्लबका कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । थप तस्वीर हाम्रो फेसबुक पेजमा हेर्न सक्नुहुनेछ । कार्यक्रमको भिडियो हाईलाईट्स