ओलम्पिकको एथलेटिक्समा हरिकुमार रिमाल पनि चुके, राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य पनि अधुरै


Hari Kumar Rimalब्राजिलमा जारी रियो ओलम्पिकमा नेपालका एथलेटिक्स खेलाडी हरिकुमार रिमाल ५ हजार मिटर दौडको पहिलो चरणबाटै बाहिरिएका छन् । ओलम्पिकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेका उनी त्यसमा पनि चुकेका छन् ।

नेपाल आर्मीका २८ वर्षिय धावक रिमालले निर्धारित दुरी १४ मिनेट ५४ दशमलव ४२ सेकेण्डमा पुरा गरे । ५ हजार मिटर दौडमा १० वर्षअघि राजेन्द्र भण्डारीले १४ मिनेट ०१ दशमलव १९ सेकेन्डको कीर्तिमान बनाएका थिए । हरिकुमार यो कीर्तिमान तोड्ने लक्ष्यसहित रियो उडेका थिए ।

उनले गत वर्ष १४ मिनेट ३२ दशमलव १८ सेकेण्डका साथ १२ औँ दक्षिण एसियाली खेलकुद सागमा कास्य पदक जितेका थिए ।  तर रिमाल रियो ओलम्पिकमा सागमा निकालेको समय निकाल्न पनि असमर्थ भए ।

२५ जना खेलाडी सहभागी हिटमा उनी २३ औं स्थानमा रहे । हरिसँग दौडिने वेलायती कीर्तिमानी खेलाडी फराहले १३ मिनेट २५ दशमलव २५ सेकेण्डको समय निकाले । हरिको हिटमा इथियोपियाका हागोस गेब्रेह्वाइट १३ मिनेट २४ दशमलव ६५ सेकेण्डको सयम निकाल्दै पहिलो भए । १३ मिनेट २६ दशमलव ०२ सेकेण्डमा दुरी पुरा गर्ने खेलाडी दोश्रो चरणका लागि छनौट भए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?