खेलाडीको मनोबल वृद्धि गर्न लागि पछौँ : मन्त्री श्रीपाइली
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले खेलाडीको मनोबल वृद्धि गर्न मन्त्रालय लागिपर्ने बताउनुभएको छ ।
पश्चिम चितवनमा सुरु भएको तीज कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनपछि मन्तव्य दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
खेलाडीलाई वर्गीकरणका आधारमा सहयोग गर्नुपर्ने आवश्यकता रहेको उहाँले औँल्याउनुभयो । भरतपुरमा भएका विभिन्न कार्यक्रममा उहाँ सरिक हुनुभएको थियो ।
सो क्रममा उहाँले खेलकुदको विकासका लागि योग्य प्रशिक्षक र खेलाडीहरु निर्माण गर्न आफूले भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गरी भएका विवाद समाधानमा आफू लाग्ने बताउनुभयो ।
उहाँले पहिलेका सरकारले अघि बढाएका राम्रा कामलाई प्राथमिकताका साथ अघि बढाउनेसमेत जानकारी दिनुभयो ।
यसैबीच, शनिबार भएको तीज कप नकआउट पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुन्दर सङ्गम युवा क्लब विजयी भएको छ ।
म्याक्स युनाइटेट क्लब शुक्रनगरलाई ३–२ ले पराजित गर्दै सङ्गम विजयी भएको हो । फुटबल प्रतियोगिता भाद्र १८ गतेसम्म जारी रहनेछ । खेलको विजेताले रु ६० हजार र उपविजेताले रु ४० हजार पुरस्कार पाउनेछन् । रासस