मुख्य चुनावी प्रचारक पाउल मनाफोर्टले राजीनामा दिएपछि ट्रम्पलाई धक्का
ट्रम्पका मुख्य चुनावी प्रचारक पाउल मनाफोर्टले नै उहाँलाई सघाउन नसकिने भन्दै राजीनामा दिनुभएको छ ।
पाउलले जिम्मेवारी सम्हालेको दुई महिनामै राजीनामा दिनुभएको हो । पाउलमाथि रुसी हितको पक्षमा रहेको तथा युक्रेनका पूर्व राष्ट्रपति भिक्टर यानुभोविचसँग नजिक रहेको आरोप लागेको छ ।
तर, उहाँले भने सबै आरोप अस्वीकार गर्दै आउनुभएको थियो । राजीनामाको कारण यही हो वा अरु केही भन्ने यकीन भएको छैन । लगातारको विवादास्पद अभिव्यक्तिका कारण पछिल्लो समय ट्रम्पको चुनावी अभियान प्रभावित भएको छ ।
पछिल्ला सर्वेक्षणहरुले ट्रम्पको प्रभाव लगातार घट्दै गएको देखाएका छन् । विभिन्न संस्थाले गरेको मत सर्वेक्षणमा डेमोक्रेटिक उमेदवार हिलारी क्लिन्टन ट्रम्पभन्दा ८ प्रतिशतले अगाडि देखिनु भएको छ ।
क्लिन्टनका पक्षमा ४२ र ट्रम्पको पक्षमा ३४ प्रतिशत समर्थक देखिएका छन् । अझै पनि २३ प्रतिशत मतदाता अनिर्णित रहेको रोयटर्सले जनाएको छ ।
उता, अमेरिकाका विभिन्न शहरको चोक–चोकमा ट्रम्पको नांगो प्रतीमा उभ्याइएको छ । विभिन्न कलाकारले एक बदनाम र आलोचनाबाट घेरिएको व्यक्ति कसरी राष्ट्रपति बन्न सक्छ भन्ने प्रश्न गर्न निर्वस्त्र प्रतीमा ठड्याइएको जनाएका छन् ।
न्यूयोर्क, लसएञ्जलस, सियाटल, सनफ्रान्सिस्को क्लेभल्याण्ड जस्ता शहरका चोकमा नांगो प्रतिमा उभ्याइएको छ ।