भव्य समारोहकाबीच ३१ औं संस्करणको ओलम्पिक ब्राजिलमा सम्पन्न, अर्को ओलम्पिक जापानमा हुने
गृष्मकालिन ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा सोमबार सकिएको छ ।
ऐतिहासिक मराकाना रंगशालामा आयोजित भव्य समारोहका बीच रियो ओलम्पिकको औपचारिक समापन भएको हो । यसपटक ओलम्पिक खेलकुद समापनमा ल्याटिन अमेरिकी सभ्यता र संस्कृति झल्कने विभिन्न प्रस्तुति राखिएका थिए । ब्राजिलमा बढ्दो आर्थिक संकट, प्राणघातक जिका भाईरसको त्रास, विश्वभर नै बढीरहेको ईस्लामिक विद्रोहको प्रभाव र समग्र सुरक्षा व्यवस्थामा यसले पारेको नकारात्मक असरका बीच रियो ओलम्पिक सम्पन्न भएको छ ।
राष्ट्रपति डिल्मा रुसेफ आन्तरिक राजनीतिक संकटमा फसेको समयमा पनि ब्राजिलले झण्डै ११ हजार खेलाडी, ८ हजार पदाधिकारी, ५ हजारभन्दा बढी खेल पत्रकार र लाखौं खेलप्रेमी दर्शकहरुलाई भित्र्याएर ओलम्पिकको सफल आयोजना गरेको छ । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिक दक्षिण अमेरिकी महादेशमा आयोजना गरिएको यो पहिलो अवसर हो ।
ओलम्पिक समापन अवसरमा ब्राजिलियन आयोजकहरुले अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीको रोहवरमा अर्को ओलम्पिक आयोजक राष्ट्र जापानलाई ओलम्पिक टर्च हस्तान्तरण गरेको छ । सन् २०२० मा हुने ओलम्पिक खेलकुद जापानको राजधानी टोकियोमा हुनेछ ।