सातौं राष्ट्रिय खेलकुदको तयारी तीव्र


7th National Gamesपूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररुपमा भइरहेको छ ।

राष्ट्रिय खेलदकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाञ्चलमा आगामी मंसिर ८ गतेदेखि १५ गतेसम्म हुने प्रतियोगिताका लागि ३७ करोड ६८ लाख खर्च हुने बताउनुभयो ।

प्रतियोगिताको पूर्वाधार तयारी लगायतका कार्यका लागि सरकारले २३ करोड निकासा गरिसकेको र बाँकी रकमका लागि माग गरिएको उहाँले बताउनुभयो ।

३२ प्रकारका खेलका लागि आयोजित प्रतियोगितामा ४ हजार २०० खेलाडीका साथै प्रशिक्षक, व्यवस्थापक र निर्णायक समेत गरी ६ हजार २८६ जनाको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

पूर्वाञ्चलमा आयोजित यस प्रतियोगिताको उद्घाटन विराटनगरमा हुनेछ भने समापन धरानमा गरिनेछ । प्रतियोगितामा मोरङमा ११, सुनसरीमा १३, झापामा पाँच, सिरहा, सप्तरी र इलाम जिल्लामा एक–एक वटा खेल आयोजना गरिने भएको छ ।

कतिपय ठाउँमा पूर्वाधार तयारीका काम तीव्रगतिमा भइरहेको र प्रतियोगिता सुरु हुनु अगावै सम्पूर्ण तयारी पूरा हुने सदस्य सचिव विष्टले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?