दिल्लीको एउटा संगठित वेश्यालयमा प्रहरीको छाप, नेपालीसहित ८ जना पक्राउ


Delhi

भारतको नयाँ दिल्लीमा एउटा संगठित वेश्यालयमा प्रहरीले छापा मारेर ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली पनि रहेको प्रहरीले जनाएको छ ।

जीबी रोडस्थित वेश्यालयमा छापा मारेर प्रहरीले वेश्यालयका सञ्चालक आफाक हुसेन र उनकी पत्नी सायरा बानोलाई पक्राउ गरेको हो । उनीहरुले सो क्षेत्रमा ६ वटा त्यस्ता वेश्यालय सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

६ वटा वेश्यालयमा करिब दुई सय ५० युवतीलाई प्रयोग गरेर उनीहरुले आफ्नो धन्दा सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । देह व्यापारमा लगाइएका युवतीमध्ये केही नेपाली पनि छन् ।

हुसेन दम्पत्तीका चालक रमेश पण्डित नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ । तर उनको ठेगाना खुलाइएको छैन । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । पण्डितले हुसेन दम्पत्तीको कारोबार हेर्ने गरेको र हरहिसाब राख्ने गरेको बताइएको छ । पण्डितका साथबाट बरामद डायरीमा कारोबारको दैनिक विवरण पाइएको र ती विवरणअनुसार दैनिक १० लाख रुपैयाँसम्म हुसेन दम्पत्तीले वेश्यालयबाट कमाउने गरेको प्रहरीले जनाएको छ ।

हुसेन दम्पत्तीको धन्दामा मेनेजरको रुपमा कार्यरत वासु नेपाली पनि पक्राउ परेका छन् । गिरोहका अन्य केही सदस्य फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?