शीर्ष खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमै पराजित
शीर्ष खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा पराजित भएकी छन् ।
अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा सेरेनालाई चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभाले ६–२ र ७–६ को सोझो सेटमा हराएकी हुन् ।
पहिलो सेट सहजै जितेकी प्लिस्कोभाले दोस्रो सेट भने टाईब्रेकरमा ७–५ ले जितेकी हुन् । प्लिस्कोभा म्याच प्वाईन्टमा रहेको बेला सेरेनाले डबल फल्ट गरेपछि प्लिस्कोभा विजयी भएकी हुन् ।
यो हारसँगै सेरेना विलियम्सको कीर्तिमानी २३ औं ग्रान्ड स्लाम जित्ने सपना चकनाचुर भएको छ । २२ पटक ग्रान्ड स्लाम उपाधि जितिसकेकी सेरेना सर्वाधिक उपाधि जित्ने खेलाडीको सूचीमा स्टेफी ग्राफसँगै दोस्रो स्थानमा रहेकी छन् ।
यो सूचीको पहिलो स्थानमा रहेकी अष्ट्रेलियन हस्ती मार्गरेट कोर्टको नाममा २४ ग्रान्ड स्लाम उपाधिको कीर्तिमान छ ।
शुक्रबारको हारपछि महिला खेलाडीहरुको विश्व वरियतामा सेरेनाले शीर्ष स्थान गुमाउने निश्चित भएको छ । यु.एस ओपनपछि सार्वजनिक हुने विश्व वरियतामा जर्मनीकी एन्जेलिक केर्बर शीर्ष वरियतामा पुग्ने पक्का भएको छ ।
प्लिस्कोभाले अब उपाधिका लागि जर्मन खेलाडी एन्जेलिक केर्बरको सामना गर्नेछिन् । सेमिफाइनलमा डेनमार्ककी क्यारोलिन वोज्नीयाकीलाई ६–४ र ६–३ ले हराउँदै केर्बर फाइनलमा पुगेकी हुन् ।