बिल गेट्सलाई उछिन्दै जारा फेसनका मालिक बने विश्वकै धनी व्यक्ति
फेसन किङ अमानसियो ओर्टेगाले विश्वकै धनी व्यक्ति भएका छन् ।
माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछाडि पार्दै जारा फेसन हाउसका संस्थापक ओर्टेगाले विश्वकै धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा पुगेका हुन् ।
फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सूचीमा स्पेनका ओर्टेगासँग ७९ दशमलव ५ अर्ब डलर सम्पत्ति छ । जब कि बिल गेट्ससँग ७८ दशमलव ५ अर्ब डलरको सम्पत्ति भएको बताइएको छ । ओर्टेगाको उमेर ८० वर्ष छ । उनी निकट भविष्यमै नै आफ्नो सम्पूर्ण व्यवसायिक जिम्मेवारी मार्तालाई सुम्पिने योजनामा छन् ।
फोब्र्सको प्रतिवेदनअनुसार ओर्टेगा बुधबार नै विश्वको सबैभन्दा धनी व्यक्ति बनिसकेका थिए, जब इन्डिटेक्सको सेयर २ दशमलव ५ प्रतिशत भएको थियो। ओर्टेगाको सम्पत्ति अमेरिकी निवेशक वारेन बफेट र अमेजोनका संस्थापक जेफ बेजोसभन्दा धेरै माथि छ ।
ओर्टेगा धनी व्यक्तिको सूचीमा पहिलो पल्ट माथि चढेका होइनन् । गत अक्टुबरमा माइक्रोसफ्टको सेयर उकासिनुअघि उनी बिल गेट्सभन्दा माथि नै थिए । धनी व्यक्तिको सूचीमा बफेट तेस्रो स्थानमा छन् । जेफ बेजोस चौथो, फेसबुकका संस्थापक मार्क जकरबर्ग पाँचौ स्थानमा छन् ।
माइकल ब्लुमबर्ग छैठौं, ल्यारी एलिसन सातौं, मेक्सिकोका कार्लोस स्लिम हेलु आठौं, अमेरिकाकै चाल्र्स कोच नवौं स्थानमा छन् ।