भारतको दिल्लीमा वेश्यालय सञ्चालन गर्ने नेपाली महिलालाई तीन वर्षको कैद, वेश्यालय बन्द गर्न अदालतको आदेश
भारतको दिल्लीस्थित एक अदालतले जीबी रोडको रेडलाइट एरियामा सञ्चालित एक वेश्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले वेश्यालय सञ्चालन गर्ने एक नेपाली महिलालाई तीन वर्षको जेल सजाय समेत सुनाएको छ ।
अदालतले दिल्लीमा बस्दै आएकी ३६ वर्षीया कान्छी तामाङलाई तीन वर्ष जेल सजाय सुनाएको हो । नेपाली महिला कान्छीले जीबी रोडमा वेश्यालय चलाउँदै आएकी छन् । उनले बिभिन्न दलाल मार्फत नेपालबाट किशोरी र महिलाहरुलाई दिल्ली पु-याउने र यौन धन्दामा लगाउने गरेको पाइएको छ ।
दिल्ली अदालतले कान्छी तामाङमाथि अनैतिक देहव्यापार कानुनको धारा ३ बमोजिम सजाय सुनाएको हो । वेश्यालय चलाउन वा आफ्नो घर डेरा परिसरलाई बेश्यालयका रुपमा प्रयोग गर्ने अनुमति दिनेमाथि भारतीय कानुनले ३ वर्ष सजायको व्यवस्था गरेको छ ।
कान्छी तामाङले जिबी रोडस्थित एक वेश्यालय कब्जा गरेर राखेको प्रहरीले जनाएको छ । अदालतले सो वेश्यालय तत्काल सिल गर्न प्रहरीलाई निर्देशन दिएको छ ।