सिड्नी मेट्रो कलेज नवाज कप फुटबलको फाईनलमा ग्रानभिल राईनोज र दि राईजिङ गोर्खा क्लबबीच भिडन्त
नवाज कप फुटबलको फाईनल भिडन्त आईतबार सिड्नीमा हुने भएको छ । फाईनलमा दी राइजिङ गोर्खा र ग्य्रान्भिल राइनोज् फुटबल क्लब मैदानमा उत्रिने भएका छन् । तेश्रो स्थानका लागि सेन्ट जर्ज फ्रेण्डस फुटबल क्लब र माछापुच्छ्रे क्लबबीच भिडन्त हुनेछ । विगत चार महिनादेखि सञ्चालित प्रतियोगिताको समापन कार्यक्रमसँगै नेपालमा महिला फुटबलरहरुको कथामा आधारित वृत्तचित्र सुनाकली पनि फुटबल मैदानमा नै देखाउने तयारी आयोजकको छ । नवाजका स्पोर्टस कोअर्डिनेटर प्रकाश पन्थीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले १२ सय डलरसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले ६ सय डलर पुरस्कार राशीसहित शिल्ड प्रमाणपत्र पाउनेछ । यस्तै तेश्रो स्थान प्राप्त गर्ने टिमले ३ सय ५० डलर पुरस्कार र शिल्ड तथा प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको म्याच डाईरेक्टरका रुपमा राजु मानन्धर रहेका छन् । संस्थाका अध्यक्ष विनोद शर्माले खेलको माध्यमबाट समूदायमा भाईचारा बृद्धि गर्न र नेपाली खेल र खेलाडीलाई प्रोत्साहन गर्न प्रत्येक वर्ष प्रतियोगिता अआयोजना गर्दै आएको प्रतिक्रिया दिनुभयो । उहाँले विगतमा प्राप्त भएको सहयोग निरन्तर रहने आशा व्यक्त गर्दै फाईनल खेलमा सबैलाई निम्तो दिनुभएको छ । फाईनल खेलको क्रममा आईतबार मैदानमा बालबालिकाहरुको लागि मनोरञ्जनका विभिन्न व्यवस्था गरिएको छ । विहान ९ बजेबाट भेट्रान समूहको खेल सुरु हुनेछ भने तेश्रो स्थानका लागि ११ बजे प्रतिस्पर्धा हुनेछ । यसैगरी दिउँसो १ः३० बजे फाईनल खेल आयोजना गरिने नवाजले जनाएको छ ।