एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबलको उपाधि न्यू डायमन्ड र हेल्प नेपाललाई
तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लबले जितेका छन् ।
महिलातर्फको खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले विभागीय टोली नेपाल प्रहरीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० कै सोझो सेटमा हरायो ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको च्याम्पियनसिपमा न्यु डायमन्ड एकेडेमीले पुलिसलाई २५–१८, २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो ।
पुलिस टोलीमा राष्ट्रिय खेलाडीको बाहुल्यता भए पनि न्यु डायमन्डले एकपक्षीय रुपमा खेल जित्यो । त्यसैगरी पुरुषतर्फको फाइनल खेलमा भारतीय खेलाडीको बाहुल्यता रहेको हेल्प नेपाल क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–२१, २७–२५ र २५–१७ को सोझो सेटमा हरायो ।
त्यसैगरी तेस्रो स्थानका लागि भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले टप्स पश्चिमाञ्चललाई २५–२१, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो ।
त्यसैगरी पुरुषतर्फको तेस्रो स्थानको खेलमा विभागीय टोली एपीएफले पश्चिमाञ्चललाई ३–२ को सेटमा हरायो । एपीएफले २५–२३, १९–२५, २५–१९, २९–३१ र १५–६ को सेटबाट हरायो ।
नेपाल भलिबल संघको वार्षिक क्यालेन्डरअनुसार भएको प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता थियो ।
प्रतियोगिताको पुरुष तथा महिलातर्फको उपाधि बिजेता न्यु डायमन्ड र हेल्प नेपालले ट्रफीसहित नगद १ लाख २५ हजार रूपैयाँ प्राप्त गरे भने उपविजेता नेपाल पुलिस क्लव र नेपाली सेनाले नगद ७०÷७० हजार रूपैयाँ प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका एपीएफका महिला तथा पुरुष टोलीले ५०÷५० रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा महिलातर्फ न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली र पुरुषतर्फ हेल्प नेपालका शुभम् चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले १५÷१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसैगरी महिलातर्फ सेटरमा न्यु डायमन्डकी कृपा अधिकारी, डिफेन्समा न्यु डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट घोषित भइन् भने स्पाइकरमा नेपाल पुलिसकी कोपिला उप्रेती र वेष्ट सर्भरमा टप्स पश्चिमाञ्चलकी अरुणा शाही उत्कृष्ट भए ।
त्यसैगरी पुरुषतर्फ बेष्ट स्पाइकरमा नेपाली सेनाका नरेन्द्र गिरी, सेटरमा हेल्प नेपालका विकास चौधरी, ब्लकमा हेल्प नेपालकै शुभे सिंह, डिफेन्समा हेल्प नेपालका मोहन पुन र सर्भरमा सेनाका मानबहादुर श्रेष्ठ घोषित भए । विधागत रुपमा उत्कृष्ट हुनेले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे ।