पाथीभरा श्रद्धाश्रमका लागि मेलबर्नमा ६ लाख सहयोग, फन्डरेजिंग शनिबार (भिडियोसहित)


एनआरएन अष्ट्रेलियाले नेपालमा स्थानीय निकायसँगको सहकार्यमा निर्माण गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजना पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रम निर्माणका लागि सहयोग जुट्ने क्रम जारी छ । यसैबीच, आगामी शनिबार अक्टोबर १ तारिखका दिन मेलबर्नको ह्वाईट रोज रिसेप्सन थनबरीमा हुने फन्डरेजिंग अघि नै ६ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता आएको छ । pathibharaएनआरएन अष्ट्रेलियाका उपाध्यक्ष केशव कँडेलले दिएको जानकारी अनुसार दुर्गा आचार्य र भेष पौडेलले एक लाख एक हजार, जोग लिम्बु र निला लिम्बुबाट एक लाख, महेन्द्र कार्की र कमला कार्कीबाट एक लाख, नेत्र पौडेल र माया तिमल्सिनाबाट एक लाख, हेम तामांगबाट एक लाख, सचिन योञ्जनबाट एक लाख गरी ६ लाख सहयोगको प्रतिबद्धता आएको हो । शनिबार आयोजना गरिने फन्डरेजिंगबाट थप सहयोग जुट्ने अपेक्षा एनआरएन भिक्टोरियाले गरेको छ । पाथीभरा श्रद्धाश्रम निर्माण गर्ने एनआरएन अष्ट्रेलियाको योजनामा होस्टेमा हैंसे गर्न पनि संस्थाले आग्रह गरेको छ । यसअघि ब्रिसबेन र सिड्नीमा समेत यस्तै किसिमको फन्डरेजिंग कार्यक्रम आयोजना भइसकेको छ । सिड्नीमा एक करोड २५ लाखभन्दा बढी सहयोग जुटेको थियो । यसैवर्षभित्र यस परियोजनालाई सम्पन्न गर्नेगरी काम भइरहेको एनआरएन अष्ट्रेलियाका च्यारिटी कोअर्डिनेटर रमेश पाण्डेले जानकारी दिनुभयो । पाण्डे मेलबर्नको कार्यक्रममा सहभागी हुन आउँदै हुनुहुन्छ । यस परियोजनाको मेलबर्न कोअर्डिनेटर महेन्द्र कार्कीले एमएनटीभीसँग भन्नुभयो, “बीचमा भूकम्प, नाकाबन्दी लगायतले गर्दा केही समय परियोजना ढिलाई भएपनि अहिले हामीले यस कामलाई तिव्रता दिएका छौं । छिट्टै नै हाम्रा अभिभावकहरुको निम्ति एनआरएनले निर्मँण गर्ने श्रद्धाश्रमको निर्माण पूरा हुने हाम्रो अपेक्षा छ । निर्माण पूरा भएपछि यसको सञ्चालनका लागि विराटनगर उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?