इपिएलमा पञ्चकन्या र विशाल विजयी
एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको दुई खेलमा पञ्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई ३४ रनले पराजित ग¥यो भने विशाल वारियर्सले सगरमाथा लिजेन्ट्सलाई २५ रनले पराजित गर्दै विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्चकन्याले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५४ रन बनायो । जवाफी ब्याटिङमा उत्रेका कलर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२० रनमा सीमित बन्यो ।
पञ्चकन्याका लागि आरिफ शेखले ६७ रनको योगदान दिए भने शरद भेषावकरले ४० तथा सञ्जय श्रेष्ठले २४ रन जोडे । त्यस्तै कलर्सका ब्याट्सम्यान हरिशङ्कर शाहले २५, ज्ञानेन्द्र मल्लले २०, हिमांशु दत्तले २८ तथा योगेन्द्रसिंह कार्कीले २१ रन बनाए ।
पञ्चकन्याका करन केसी र शरद भेषावकरले तीन/तीन विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र सुशील कँडेलले एक/एक विकेट लिए ।
सोही मैदानमा भएको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विशाल वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन जोड्यो । विशाल वारियर्सका लागि कप्तान पारस खड्काले ९९ रनको योगदान दिए । ४५ बल खेलेका खड्काले १० छक्का र दुई चौकाको सहयोगमा ९९ रन बनाए । यस्तै ४० बल खेलेका सुरजप्रसाद कुर्मीले ३० रन बनाए ।
प्रतियोगितामा १७५ रनको लक्ष्य पछ्याएको सगरमाथाले भने २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रनमा सीमित बन्यो । सगरमाथाका लागि सुनिल धमलाले ८७ रन र मेहबुब आलमले २७ रन जोडे । विशाल वारियर्सका सुशन भारीले दुई तथा दीपेश खत्री र सागर पुनले एक/एक विकेट लिए ।