महन्थ ठाकुरको घरमा चोरी गर्ने पूर्व ड्राइभर !
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको भक्तपुरस्थित घरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही पिडाडी–३ घर भई पेप्सीकोला बस्ने रन्जितप्रसाद गुप्ता र महोत्तरी मेघनाथ घोरन्ना घर भई पेप्सिकोला बस्ने प्रमानन्द भन्ने प्रचण्डप्रताप सिंह रहेका छन् । ठाकुरको घरबाट ब्रिफकेस चोरेर भागेकाहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । पक्राउ परेकामध्ये गुप्ता तमलोपा अध्यक्ष ठाकुरका पूर्वड्राइभर हुन् । उनकै योजनामा चोरी भएको दाबी प्रहरीले गरेको छ ।
गत भदौ २४ गते साँझ ठाकुरकी छोरी डा. मिनाक्षीको आँखामा खुर्सानीका धुलो हालेर सानोठिमीस्थित घरमा चोरी भएको थियो । चोरहरुले ठाकुरलाई कुखुरी हानेका थिए, जसबाट उनको हातमा चोट लागेको थियो ।
अर्का अभियुक्त सिंह पनि जागिरको लागि पटक–पटक ठाकुर कहाँ पुगेका थिए । जसका कारण उनीहरुलाई घरको अवस्थितिबारे जानकारी थियो ।
प्रहरीका अनुसार बाहिरको ढोका पनि खुल्ला देखेपछि उनीहरु सिधै कोठामा पुगेर सोफामा भएको ब्रिफकेस बोकेर भागेका थिए । त्यसक्रममा ठाकुरकी छोरी मिनाक्षीले देखेपछि खुर्सानीको धुलो हानेको अनुसन्धानबाट खुलेको छ ।
चोरी भएको ब्रिफकेसमा ५० हजार जति मात्रै भएको तमलोपा अध्यक्ष ठाकुरले प्रहरीसमक्ष बताएका छन् । अपराध महाशाखाको टोलीले गुप्तालाई काठमाडौं काँडाघारी र सिंहलाई ललितपुरबाट पक्राउ गरेको हो ।